अर्गानिक उत्पादनको ७५ प्रतिशत प्रमाणीकरण अनुदान पुनः सञ्चालन गर्न सरकार सकारात्मक

Logo
सोहरुची प्रकाशित बिहिबार, साउन ०७, २०८३ समाचार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक (प्रांगारिक) कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रणाली देशभित्रै स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यसबाट नेपाली अर्गानिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन तथा उत्पादक किसान र व्यवसायीको लागत घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा अर्गानिक कृषि व्यवसायीहरूको छाता संस्था अर्गानिक एसोसियसन नेपालका पदाधिकारीहरूसँग प्रधानमन्त्री शाहले अर्गानिक कृषि क्षेत्रका चुनौती, सम्भावना र सरकारी सहकार्यका विषयमा विस्तृत छलफल गर्नुभएको थियो।

छलफलका क्रममा एसोसियसनका पदाधिकारीहरूले नेपालमा उत्पादन हुने अर्गानिक वस्तुको अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गराउनुपर्ने बाध्यता रहेको र त्यसका लागि ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको जानकारी गराएका थिए। उनीहरूले सरकारको पहलमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्न माग गरेका थिए। प्रधानमन्त्री शाहले उक्त मागलाई सकारात्मक रूपमा लिँदै आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो।

व्यवसायीहरूले अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा सरकारले उपलब्ध गराउँदै आएको ७५ प्रतिशतसम्मको अनुदान बन्द भएकाले त्यसलाई पुनः सञ्चालन गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म यस्तो अनुदानलाई निरन्तरता दिने विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहले अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको रासायनिक मल तथा विषादीको प्रयोगलाई नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले स्वस्थ, सुरक्षित र वातावरणमैत्री कृषि प्रणाली विकासका लागि आवश्यक नीतिगत तथा व्यवहारिक कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छलफलमा सहभागी व्यवसायीहरूले प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सरकारले अनुदान उपलब्ध गराउनुपर्ने माग पनि राखेका थिए। उनीहरूले रासायनिक मलले पाउँदै आएको सुविधा सरह अर्गानिक मल उत्पादन तथा खरिदमा पनि समान सुविधा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले उक्त मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको छ।

यसैगरी, अर्गानिक उत्पादन निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान पछिल्लो दुई वर्षदेखि रोकिएको विषय पनि छलफलमा उठाइएको थियो। प्रधानमन्त्री शाहले उक्त समस्या कानुनी रूपमा समाधान गर्न सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिँदै निर्यात प्रवर्द्धनमा देखिएका अवरोध हटाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

छलफलमा अर्गानिक एसोसियसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, संस्थाका सदस्यहरू, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्यलगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२