बिपी राजमार्ग दसैँअघि खुल्ने अबस्थामा छैन

Logo
सोहरुची प्रकाशित मंगलबार, आश्विन १४, २०८१ समाचार

काठमाडौंसँग पूर्वको दूरी छोट्याउने बिपी राजमार्गका विभिन्न ठाउँमा दुई किलोमिटर सडक नामोनिसाना नरहने गरी कटान हुँदा कोशी र मधेशका जिल्लाको यातायात प्रभावित

तीन दिनको वर्षापछिको बाढीपहिरोले सबैभन्दा बढी प्रभावित भएको बिपी राजमार्गमा दुई हजार ५० मिटर सडकखण्ड बगाएको छ । रोशीदेखि नेपालथोकसम्मको खण्डमा विभिन्न ठाउँमा पहिरोले सडक बगाएको हो ।

रोशीदेखि नेपालथोकसम्मको सडकखण्ड करिब ३० किलोमिटर छ । त्यसमध्ये दुई हजार ५० मिटर सडकखण्डको कुनै नामोनिसाना छैन । यो अद्यावधिक तथ्यांक हो । यसअघि आइतबारको तथ्यांकमा त्यहाँ १४ सय मिटर सडक बाढीले बगाएको भनिएको थियो । सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले दुई किलोमिटरभन्दा बढी सडक बगाएको ठाउँमा ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले दसैँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नरहेको बताए । ‘बिपी राजमार्गमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको छ । मौसमले साथ दिएको अवस्थामा मंगलबार भकुन्डेबेँसी–रोशी खण्डको अवरोध हटाउनेछौँ । बर्दीबासदेखि नेपालथोकसम्मको सडक त आइतबार नै खुला भइसकेको छ । धुलिखेल–भकुन्डेबेँसी पनि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । तर, रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नामोनिसाना नै नभएकाले दसैँअघि सञ्चालनमा ल्याउन सम्भव देखिँदैन,’ उनले भने, ‘त्यहाँ यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्छ । तर, पछिल्लो वस्तु परिस्थितिअनुसार दसैँअघि नयाँ ट्र्याक खोल्न चुनौती छ । तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने आशा छ । सडक नै पुनस्र्थापना गर्नुपर्ने भएकाले थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाएर काम गर्नुपर्छ ।’ सडक पुनस्र्थापनामा कति बजेट आवश्यक पर्छ भनेर पनि अहिले यकिन नभएको उनले बताए ।

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार कालढुंगा र डालाबेँसी खण्डमा पाँच–पाँच सय मिटर, चिउरीवास खण्डमा तीन सय मिटर, एक नम्बर पुल परिसरमा २५० मिटर, नार्कबजारमा १५० मिटर, चौकीडाँडामा १०० मिटर, दाउन्नेमा १०० मिटर, माम्ती खोलामा १०० मिटर र चारसय बेँसीमा ५० मिटर सडक बाढीले बगाएको छ । रोशी खोलाको पुल पनि बाढीले बगाएको छ ।

दुई हजार ५० मिटरको ट्र्याकसमेत नरहेको रोशी–नेपालथोक खण्डको दूरी ३० किलोमिटर छ । त्यहाँ अहिलेसम्म निर्माण सामग्री तथा मेसिन पु¥याउन नसकिएको उपमहानिर्देशक अर्यालले बताए । तत्काल अवरुद्ध सडक खुलाउने र सडक पुनस्र्थापना गर्ने विषयमा विस्तृत रूपमै अध्ययन गर्नुपर्ने उनको भनाइ छ । यो खण्ड रोशी खोलाको किनारमा छ । रोशी खोलाको छेउबाट ‘पर्खाल’ उठाएर र कम मात्रामा भित्ता कटान गरेर उक्त सडक बनाइएको थियो । अहिले रोशी खोलामा अनपेक्षित बाढी आउँदा किनारमा पर्ने विभिन्न सडकखण्ड बगेको हो ।

‘त्यहाँ नयाँ ट्र्याक खोल्न भित्ता कटान गर्नुुपर्ने हुन्छ । साथै, रोशी खोलाको बगरमा पनि सडक बनाउनुपर्ने हुन सक्छ । तर, त्यसका लागि एकपटक विस्तृत रूपमा अध्ययन गर्नुपर्ने हुन्छ,’ अर्यालले भने । अझै पनि रोशी खोलामा पानीको बहाव सामान्य अवस्थामा आइसकेको छैन । पानी कम भएको अवस्थामा त्यहाँ बगरमै वैकल्पिक मार्ग बनाउन सकिन्छ । तर, त्यसका लागि खोलामा पानी नै घट्नुपर्ने उनले बताए ।

१६० किलोमिटर लामो बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका)को सहयोगमा बनेको थियो । २६ अर्ब रुपैयाँ हाराहारीको लागतमा जापानले ०५२ देखि निर्माण सुरु गरेको यो सडक ०७२ मा तयार भएको थियो । त्यहाँको भौगोलिक अवस्थाअनुसार इन्जिनियरिङ डिजाइन गरेर यो सडक बनाइएको थियो ।

अझै ४५ सडकखण्ड अवरुद्ध सडक विभागको तथ्यांकअनुसार सोमबार राति १० बजेसम्म विभिन्न सडकका ४५ खण्ड अवरुद्ध छन् । ४०९ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा छन् । तमोर करिडोर, कान्ति लोकपथ, बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोर, भेडेटार–राँके सडक, ठोरी–भण्डरा–मलेखु, गल्छी–त्रिशूली–रसुवागढी, तानसेन–रिडी–कोरलालगायतका सडकका विभिन्न खण्ड अवरुद्ध छन् ।

दक्षिणकाली–हेटौँडा खण्डको सिस्नेरीमा चार सय मिटर सडक बगायो काठमाडौं–हेटौँडा जोड्ने कुलेखानी–सिस्नेरी–छैमले सडकको सिस्नेरी खण्डमा चार सय मिटर सडक बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले उक्त सडक तत्काल सञ्चालन गर्न नसकिने बताए । ‘हामी त्यहाँ पुग्न नै सकेको छैनौँ । झन्डै चार सय मिटर सडक बगाएको जानकारी आएको छ,’ उनले भने, ‘उक्त सडक तत्काल सञ्चालन गर्न चुनौती छ । तसर्थ, हामी हेटौँडा–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडक सञ्चालन गर्ने तयारीमा छौँ ।’

हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल सडकको पनि महालक्ष्मी खोलामा ७० मिटर सडक कटान गरेको छ । कुलेखानी पुलसँगैको ५० मिटर सडक पनि क्षतिग्रस्त छ ।

पृथ्वी राजमार्गको गजुरीमा सुक्खा पहिरो, सडक पूर्ण अवरुद्धआइतबार साँझदेखि खुलाइएको पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड सोमबार साँझदेखि फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको गजुरी– २ परेवाभिरमा साढे सात बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । धादिङ प्रहरीका अनुसार रातभर पहिरो पन्छाउन नसकिने भएकाले सवारीचालकहरूलाई आ–आफ्ना सवारी सुरक्षित स्थानमा राख्न भनिएको छ । यसअघि झ्याप्ले खोलामा गएको पहिरोले शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

कान्ति लोकपथको अवरोध कायमैहटौँडा र काठमाडौं जोड्ने कान्ति लोकपथ भने अझै सञ्चालनमा आउन सकेको छैन । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा खसेको पहिरो पन्छाउन नसक्दा सडक बन्द भएको हो । अवरोध पन्छाउने काम भइरहेकाले बुधबारसम्म पूर्ण रूपमा सञ्चालनमा आउने विभागले जनाएको छ । पानी पर्न रोकिएसँगै सडक विभाग, नेपाल प्रहरी र स्थानीय पालिकाहरूसँगको सहकार्यमा अवरुद्ध सडकबाट पहिरो पन्छाउने काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।

अरनिको राजमार्ग पनि तत्काल नखुल्नेतातोपानी नाका जोडिएको अरनिको राजमार्ग पनि तत्काल नखुल्ने भएको छ । हाल लार्चा पुलसम्म यातायात खुला भए पनि त्यहाँबाट तातोपानीतर्फ दुई पुल (लार्चा र लिपिङ) बगाएको छ । त्यहाँ नयाँ पुल नै पुनस्र्थापना गर्नुपर्ने भएकाले राजमार्ग पूर्ण रूपमा खुल्न समय लाग्ने सडक विभागको रिपोर्टमा उल्लेख छ ।

देशभर साढे २१ किलोमिटर सडक क्षतिग्रस्त, सात पुल बगायोदुई पहिरो र बाढीले देशभर गरेर साढे २१ किलोमिटर सडक क्षतिग्रस्त भएको सडक विभागको तथ्यांक छ । त्यस्तै, बाढीले सात पुल बगाएको छ, जसमा दुई बेलिब्रिज छन् । सुनकोशी नदीले मात्रै तीन पुल बगाएको छ । सुनकोशीमा रहेको खुर्कोट, सिन्दुरेटार र फोक्सिङटार पुल बगाएको हो । त्यस्तै, अरनिको राजमार्गको लिपिङ र लार्चा पुल बगाएको छ । लार्चाको पुल बेलिब्रिज हो । इलाम माईपोखरी सडकको रातेखोला पुल र पाँचथर हेवा खोलाको बेलिब्रिज पनि बगाएको छ ।

राष्ट्रिय स्तरका सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोडको क्षति पछिल्लो बाढीपहिरोले सडक र पुलतर्फ दुई अर्ब ५२ करोड ५० लाख रुपैयाँबराबरको क्षति पुगेको छ । सडक विभागका अनुसार सडकतर्फ एक अर्ब ५० करोड ५० लाख रुपैयाँको क्षति भएको छ । त्यस्तै बेलिब्रिजतर्फ २० करोड र पुलतर्फ ८२ करोड रुपैयाँको क्षति भएको छ । तर, पुनर्निर्माणमा योभन्दा धेरै बजेट खर्च हुने विभागको अनुमान छ । यो राष्ट्रिय स्तरका राजमार्गमा भएको क्षति मात्रै हो ।

बगर बने सलादु र पाटीखर्क : घरखेत नै बगेपछि पीडितहरू विस्थापित हुँदै

लगातारको वर्षापछिको बाढीपहिरोबाट काभ्रेको बेथानचोक गाउँपालिका– ४ का सलादु र पाटीखर्क बस्ती नै विस्थापित भएका छन् । बाढीमा घरसँगै अन्नपात, लत्ताकपडा मात्रै बगेनन्, घरखेत नै बगरमा परिणत गरिदिएपछि स्थानीयहरू थातथलो छाडेर पनौती बजारतर्फ हिँडेका छन् । काभ्रेमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेको संख्या ५२ पुगेको छ भने अझै चारजना बेपत्ता छन् ।  बाढीपहिरोका कारण जिल्लाभर अलपत्र परेका तीन हजार ७२५ जनाको उद्धार भएको छ । जसमा हेलिकोप्टरबाट ४५१ र अन्य माध्यमबाट तीन हजार २७४ को उद्धार भएको छ

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२