काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डंगोललाई उक्त जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरिएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले संस्थागत नेतृत्व व्यवस्थापनसँग सम्बन्धित यो निर्णय गरेको हो।
त्यसैगरी, बैठकले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन गर्न गठित “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२” को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। सहकारी क्षेत्रको पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउने उद्देश्यसहित उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको सरकारको भनाइ छ।
बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ। निर्णयअनुसार मोटा धानको प्रति क्विन्टल रु ३,६६० र मध्यम धानको प्रति क्विन्टल रु ३,८६० कायम गरिएको छ। साथै, नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने “लेटर अफ रिप्लाईङ” स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त निर्णयले ऊर्जा पूर्वाधार विस्तार र अन्तरदेशीय विद्युत् व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
