जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र माइतीघर प्रदर्शनमा आउने भएको छ । क्रोएसियास्थित कोशेली प्रोडक्सनको प्रस्तुतिमा चलचित्र प्रदर्शनमा आउने भएको हो । क्रोएसियामा बसोबास गरिरहनु भएका नेपालीबिच प्रदर्शन गर्न लागिएको चलचित्र २०२५ डिसेम्बर २८ गते आइतबारको दिन प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेटे’ मा प्रदर्शनमा आउने चलचित्र रोहित अधिकारी फिल्म्ससँगको सहकार्यमा कोशेली प्रोडक्सन क्रोएसियाले प्रदर्शनमा ल्याउन लागेको हो । क्रोएसियामा रहेका नेपाली समुदायमाझ प्रदर्शन हुने यस चलचित्र नेपालको सांस्कृतिक र सामाजिक परिवेशलाई पर्दा मार्फत निकाल्दै क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२६ को छुट्टीको समयलाई मनोरञ्जनात्मक बनाउन चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले बताएको छ ।
क्रोएसियामा प्रदर्शन हुने उक्त चलचित्र हेर्नका लागि प्रति टिकट मुल्य १० युरो रहेको प्रदर्शक संस्थाले जानकारी दिएको छ । चलचित्रको टिकटको लागि प्रदर्शन हलमा खरिद गर्न सकिने साथै थप जानकारीका लागि कोशेली प्रोडक्सन टिमसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।
चलचित्र माइतीघर क्रोएसियाको स्थानीय समय अनुसार बिहान १०:३० बजे, दिउँसो १:०० र साँझ ४:०० बजे गरि ३ शो प्रदर्शन हुनेचलचित्रको व्यवस्थापन पक्ष सम्हालिरहेका सञ्जय तामाङले जानकारी दिए ।
दशैंको फूलपातीको अवसर पारेर नेपालमा प्रदर्शन गरिएको चलचित्रमा कमेडी, प्रेम, विछोड, संस्कृतिको विषय समावेश गरिएको छ । पारिवारिक कथा बोकेको चलचित्रलाई मिलन तामाङले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशन हो। चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् । रामशरण पाठकको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । चलचित्रका सह–सम्पादक अंकित तिवारी हुन् ।
रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा माग्ने बुडा उर्फ कलाकार केदार प्रसाद घिमिरेको कमेडी बलियो देखिएको छ । चलचित्रले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको चलचित्रमा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
