

काभ्रेपलान्चोक — शिक्षा क्षेत्रमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि निरन्तर योगदान पुर्याउँदै आएको एबिएम स्कूललाई “एबिएम स्कूल एजुकेशन अवार्ड २०२५” द्वारा सम्मानित गरिएको छ।
नेपालबाट प्रकाशित कलेज रिडर म्यागेजिन र युनिभर्सिटी अफ ग्रीनविच (University of Greenwich) को सहकार्यमा प्रदान गरिने यो अवार्ड विभिन्न सूचकका आधारमा उत्कृष्ट शैक्षिक संस्थाहरूको मूल्याङ्कनपछि प्रदान गरिन्छ। काभ्रे जिल्लाबाट व्यावसायिक शिक्षकहरूद्वारा समूहगत रूपमा शिक्षण गर्ने उत्कृष्ट शैक्षिक संस्थाको रूपमा एबिएम स्कूल चयन भएको हो।
अक्टोबर १३ र १४ तारिखमा बेलायतको राजधानी लन्डनस्थित युनिभर्सिटी अफ ग्रीनविच को प्राङ्गणमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा उक्त अवार्ड विद्यालयका भाइस प्रिन्सिपल ललिता बन्जारलाई प्रदान गरिएको थियो।
कार्यक्रममा नेपालभरिबाट उच्च शिक्षा प्रदान गर्ने ८७ वटा शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो। गत वर्ष पनि एबिएम स्कूलले अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित क्यानभेरा युनिभर्सिटी (Canberra University) मा आयोजित समारोहमा एजुकेशन अवार्ड २०२४ प्राप्त गरेको थियो।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाका अनुसार, “यो अवार्ड विद्यालयका समर्पित शिक्षक, अभिभावक र विद्यार्थीहरूको निरन्तर प्रयासको प्रतिफल हो। एबिएमले गुणस्तरीय, व्यावहारिक र मूल्याधारित शिक्षामा अझ अग्रगामी योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” उनले बताए।
प्रधानाध्यापक तिमल्सिनाले थपे, “लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउने अवसर मिल्नु हाम्रो गर्वको विषय हो। यसले सम्पूर्ण शैक्षिक समुदायलाई थप प्रेरणा प्रदान गरेको छ।”