

बनेपा, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० जनागलस्थित नाइटिङ्गेल एकेडेमीको आयोजनामा ‘नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२’ एक विशेष समारोहका बीच शुक्रबारबाट सुरु भएको छ।
उद्घाटन समारोह विद्यालयका अध्यक्ष रत्नकुश रजितकारको सभापतित्वमा तथा श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने, समाजसेवी सत्यमान तामाङ, राज भन्दिर श्रेष्ठ, साथै काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सञ्चारकर्मी र स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मेजर बस्नेतले खेलकुदले मिहिनेत, अनुशासन र जिम्मेवारी बोधको भावना विकसित गराउने बताउँदै, “खेलकुद नै व्यक्तित्व विकास र जीवनमा सफलताको महत्वपूर्ण आधार हो,” भन्नुभयो। उहाँका अनुसार खेलकुदले दाम र नाम दुवै कमाउने अवसर प्रदान गर्छ।
त्यस्तै, विद्यालयका अध्यक्ष रत्नकुश रजितकारले विद्यार्थीहरूलाई अहंकार नराखी स्वस्थ प्रतिस्पर्धाको भावना राखेर खेलमा सहभागिता जनाउन आग्रह गर्नुभयो। “जित्नेले जित्छ, हार्नेले सिक्छ भन्ने सोचसहित खेलकुदलाई उत्साह र आत्मविश्वासका साथ मनाउनुपर्छ,” उहाँले भन्नुभयो। उहाँले विद्यालयले चाँडै आफ्नै फुटसल मैदान निर्माण गर्ने र बास्केटबल, भलिबल तथा ब्याडमिन्टनका लागि छुट्टै होम ग्राउन्ड निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन र नेतृत्व क्षमता विकास हुने भन्दै वडा खेलकुद प्रवर्द्धनका लागि सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो।
एक सातासम्म चल्ने यो स्पोर्ट्स मिटमा फुटबल, भलिबल, हाइजम्प, लङ्ग जम्प, स्विमिङ, टग अफ वार र कराँतेलगायतका खेल प्रतियोगिताहरू सञ्चालन हुने जानकारी विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले दिनुभयो।
उद्घाटन समारोहमा विद्यार्थीहरूले एनसीसी खुकुरी ड्रिल, टेक्वान्दो प्रदर्शन, कक्षा ३ र ४ का विद्यार्थीहरूको पीटी प्रदर्शन, साथै आकर्षक सांस्कृतिक नृत्य प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको प्रस्तुतिलाई विद्यालयका ईसीए प्रमुख विक्रम प्रजापतिले संयोजन गर्नुभएको थियो।
नाइटिङ्गेल एकेडेमीद्वारा आयोजना गरिएको यो स्पोर्ट्स मिटले विद्यार्थीहरूमा खेलभावना, अनुशासन र सहकार्यको भावना प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ।