

पनौती, काभ्रेपलाञ्चोक
पनौती नगरपालिकाले सम्पूर्ण बालबालिकालाई लक्षित गर्दै अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका घोषणा गरेको छ। “सबै बालबालिका विद्यालयमा, गुणस्तरीय शिक्षा सबैका लागि” भन्ने मूल नारासहित मंगलबार नगरमा विशेष कार्यक्रम आयोजना गरियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले नगर प्रमुख रामशरण भण्डारीलाई औपचारिक रूपमा शिक्षा सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। गौतमले शिक्षकहरूको प्रशंसा गर्दै भन्नुभयो,
“पनौती नगरका विद्यालयहरूले उच्च GPA ल्याउन सफल हुनुको श्रेय शिक्षकहरूको कडा मेहनतलाई जान्छ। आगामी दिनमा अझ उत्कृष्ट नतिजा अपेक्षा गरिएको छ।”
नगरप्रमुख भण्डारीले संविधानमा उल्लेखित शिक्षाको मौलिक हकलाई व्यवहारमा उतार्न नगर प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले घोषणा पत्र वाचन गर्दै भन्नुभयो,
“शिक्षामा समानता, गुणस्तर र समावेशिताका आधारमा नगर अघि बढ्नेछ।”
विद्यालयबाहिरका बालबालिकालाई पुनः विद्यालयमा भर्ना
सामुदायिक विद्यालयतर्फबाट प्रतिनिधित्व गर्दै एक वक्ताले २७ जना विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालय फर्काउन सफल भएको जानकारी दिनुभयो। उहाँले नगरले “पढ्दै–कमाउँदै कार्यक्रम” प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस वर्ष शिक्षामा बजेट वृद्धि हुनु सकारात्मक पक्ष भएको बताउनुभयो।
फरक क्षमता भएका बालबालिकाको समेत समावेश
शिक्षक महासंघ, पनौतीका अध्यक्ष उद्वब बोलखेले फरक क्षमता भएका ४५ जना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, पनौतीलाई शिक्षा र खेलकुदको केन्द्रको रूपमा विकास गरिनु पर्ने धारणा राख्नुभयो।
एसईई नतिजामा सामुदायिक विद्यालय अगाडि
वार्षिक शैक्षिक प्रतिवेदनअनुसार सामुदायिक विद्यालयतर्फ ९५ प्रतिशत विद्यार्थी एसईईमा उतीर्ण भएका छन् भने निजी विद्यालयतर्फ यो संख्या ५८ प्रतिशतमा सीमित रहेको देखिएको छ।
२५ जना विद्यार्थी असफल भए पनि सम्बन्धित विद्यालयहरू “४ GPA अभियान” मा जुटेर उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धतासहित अघि बढेका छन्।