बनेपा – साहित्यकार एवं शिक्षक आर. सी. भट्टराईद्वारा लिखित उपन्यास ‘सङ्घर्षयात्रा’ आइतबार एक विशेष समारोहबीच सार्वजनिक भलको छ । शब्दयात्रा प्रकाशन बनेपाद्वारा प्रकाशित भट्टराईको उक्त कृतिमाथि साहित्य अनुरागी व्यक्तित्वहरूले टिप्पणी गर्दै सफलताको शुभकामना समेत दिएका थिए ।
शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका ज्येष्ठ सदस्य तथा आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले सभापतित्व गर्नुभएको थियो। प्रमुख अतिथि अधिकारी, सभापति तिमल्सिना र उपन्यासकार भट्टराईले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएको हो।
कार्यक्रममा उपन्यास ‘सङ्घर्षयात्रा’ माथि डा. अम्बुभवानी कार्की, सुभद्रा अधिकारी र गोपालप्रसाद बरालले समीक्षात्मक टिप्पणी गर्दै कृतिले जीवनका संघर्ष, मानवीय संवेदना र सामाजिक यथार्थलाई प्रभावशाली रूपमा चित्रण गरेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा उपस्थित डा. हेमराज काफ्ले र डा. इन्दुल केसीले नेपाली साहित्यमा यस्ता सिर्जनात्मक कृतिले समाजलाई सकारात्मक सन्देश दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
हरि प्रिया रेग्मी र शिव बन्जाराले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यप्रेमी, लेखक, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको समापन नवराज तिमल्सिनाले गर्नुभएको थियो।
नवप्रकाशित ‘सङ्घर्षयात्रा’ले जीवनका विविध संघर्ष, अनुभव र सामाजिक यथार्थलाई साहित्यिक शैलीमा प्रस्तुत गर्दै नेपाली उपन्यास साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
