बनेपा – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसले क्याम्पसको अस्तित्व र विकासमा असर पर्ने गरी अवाञ्छित गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत क्याम्पसले आफूलाई सुकुम्बासी बनाउने उद्देश्यका साथ विभिन्न गतिविधि भइरहेको दाबी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेको हो।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष लम्बोदर कायस्थको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजी वैदारले क्याम्पस स्थापना कालदेखि बनेपा नगरपालिका वडा नं. ६ सँग भएका सहमति, समझदारी तथा विभिन्न आधिकारिक कागजातहरू सार्वजनिक गर्दै क्याम्पसको धारणा स्पष्ट पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्याम्पसकी उपप्राध्यापक कृष्ण प्यारी नकर्मीले गर्नुभएको थियो।
पत्रकार सम्मेलनमा क्याम्पस प्रशासनले बनेपा नगरपालिका वडा नं. ६ सँग देखिएको विवाद समाधानका लागि आफू वार्ताबाट पछि नहट्ने स्पष्ट गरेको छ। यद्यपि, वडा अध्यक्षको प्रत्यक्ष रोहबरमा नभई अन्य निष्पक्ष निकायको रोहबरमा वार्ता गर्न आफूहरू तयार रहेको क्याम्पसको भनाइ छ। क्याम्पसको विकास, संरक्षण र दीर्घकालीन हितसँग सम्बन्धित विषयमा जुनसुकै निकायसँग, जहाँसुकै पनि संवाद गर्न आफूहरू प्रतिबद्ध रहेको क्याम्पसले जनाएको छ।
विवाद समाधानका लागि क्याम्पसले क्याम्पस व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा डा. माधवप्रसाद तिमिल्सिना, श्रीराम श्रेष्ठ, आत्माराम थापा, योगेश्वर कायस्थ तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहिन पराजुली सदस्य रहनुभएको छ।
क्याम्पसले सम्बन्धित पक्षलाई तथ्य र प्रमाणका आधारमा वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै शैक्षिक संस्थाको गरिमा, सम्पत्ति तथा भविष्यलाई असर पुग्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षसँग अनुरोध गरेको छ।
