लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा सबै प्रदेश प्रहरी कार्यालयलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाहलगायतका सूचकका आधारमा गरेको मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट घोषित भएको हो।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले प्रविधिमैत्री प्रहरी सेवा विस्तार, नागरिकमैत्री सेवा प्रवाह तथा समुदाय–प्रहरी सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय कार्य गरेको जनाएको छ। सेवाग्राहीको सहजताका लागि डिजिटल उजुरी प्रणाली तथा एसएमएसमार्फत उजुरीको प्रगति जानकारी दिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ।
यसैगरी, सार्वजनिक सुरक्षा तथा साइबर अपराध नियन्त्रणका क्षेत्रमा ‘ह्याक फर सेफ्टी’ जस्ता प्रविधिमुखी कार्यक्रम सञ्चालन गर्नुका साथै शान्ति पदयात्रालगायत जनचेतनामूलक अभियानलाई पनि प्राथमिकता दिइएको छ। “नागरिकको सेवामा कमजोरी सह्य हुँदैन” भन्ने अवधारणालाई कार्यान्वयन गर्दै मातहतका जिल्ला तथा सीमावर्ती प्रहरी इकाइहरूको नियमित अनुगमन र पारदर्शी सेवा प्रवाहमा विशेष जोड दिइएको प्रहरी स्रोतले जनाएको छ।
सीमा सुरक्षा सुदृढीकरणसँगै मानव बेचबिखन तथा ठगीसम्बन्धी अपराध नियन्त्रणमा समेत सक्रियता बढाइएको छ। भारतको कुशीनगरलगायत विभिन्न स्थानमा बन्धक बनाइएका ४०० भन्दा बढी नेपाली नागरिकको उद्धार गरी सुरक्षित स्वदेश फिर्ता गराउन सफल भएको पनि प्रहरीको दाबी छ।
प्रहरी प्रधान कार्यालयको मूल्यांकनअनुसार उत्कृष्ट कार्यसम्पादन हासिल गरेसँगै डीआईजी खत्रीको व्यावसायिक नेतृत्व, अनुशासन र प्रविधिको प्रभावकारी प्रयोगलाई लुम्बिनी प्रदेश प्रहरीको सफलताको प्रमुख आधारका रूपमा हेरिएको छ।
#LumbiniPolice #NepalPolice #DIGBhupendraKhatri #PolicePerformance #BestProvincePolice #LawAndOrder #PublicSafety #CrimeControl #CommunityPolicing #SmartPolicing #Hack4Safety #DigitalPolice #PoliceLeadership #GoodGovernance #NepalNews #Security #LawEnforcement #PublicService #Nepal #LumbiniProvince
