काठमाडौँ । नेपालमा रहस्यमय र दु:खान्त राजदरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको भएको छ । आजकै दिन वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देव, रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहसहित राजपरिवारका नौ सदस्यको निधन भएको थियो। नेपालको इतिहासमा “राजदरबार हत्याकाण्ड” का नामले चिनिएको यस घटना अझैपनि रहस्यको गर्भमा छ ।
घटनापछि गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्र वीर विक्रम शाह देवलाई गोलीकाण्डको मुख्य जिम्मेवार ठहर गरेको थियो। सार्वजनिक प्रतिवेदनअनुसार पारिवारिक जमघटका क्रममा युवराज दीपेन्द्रले राजपरिवारका सदस्यहरूमाथि गोली प्रहार गरेका थिए र त्यसपछि आफूमाथि पनि गोली चलाएका थिए।
घटनापछि अचेत अवस्थामा रहेका दीपेन्द्रलाई नेपालको राजा घोषणा गरिएको थियो। तर उपचारकै क्रममा ३ दिनपछि उनको निधन भयो। त्यसपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र वीर विक्रम शाह देव नेपालको राजगद्दीमा आरोहण गरेका थिए।
राजदरबार हत्याकाण्डले नेपाललाई गहिरो शोकमा डुबाएको मात्र होइन, देशको राजनीतिक तथा सामाजिक अवस्थामासमेत दूरगामी प्रभाव पारेको मानिन्छ। सरकारी छानबिन प्रतिवेदन सार्वजनिक भए पनि घटनाबारे विभिन्न प्रश्न, शंका तथा वैकल्पिक धारणा आजसम्म पनि उठ्ने गरेका छन्।
विश्लेषकहरूका अनुसार राजदरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासको एक महत्वपूर्ण मोड थियो, जसले देशको राजनीतिक दिशा, राजसंस्थाप्रतिको जनविश्वास तथा भावी शासन व्यवस्थामा गहिरो प्रभाव पारेको थियो।
