

धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । नगरसभाको सत्रौं अधिवेशनमा प्रस्तुत (बजेट अधिवेशन) नगरप्रमुख अशोक कुमार ब्याञ्जुको अध्यक्षतामा भएको हो । सभालाई सम्बोधन गर्दै नगरप्रमुख ब्याञ्जुले आ.व.२०८२, ८३ को नीति, कार्यक्रम तथा बजेेट प्रस्तुत गर्नुभएको थियो ।
सभामा उपप्रमुख निराजन जङ्गमले आ.व. २०८१|८२ वार्षिक नीति तथा कार्यक्रम र प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो।
नगर सभाबाट प्रदेश सभा खारेज गर्न संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। यो प्रस्ताव धुलिखेल नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं नगरसभा सदस्य अर्जुन न्यौपानेले पेश गर्नुभएको थियो ।
प्रस्तुत विवरणअनुसार, गत वर्षका लागि छुट्याइएको ९० करोड ९५ लाखमध्ये जेठ मसान्तसम्म ५२ करोड ५४ लाख रुपैयाँ खर्च भएको देखाइएको छ। कुल बजेटको ५८ प्रतिशत खर्च भएको यो प्रगतिलाई नगरले सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरेको छ। त्यसमा चालु खर्च ४० करोड ५२ लाख र पूँजीगत खर्च १२ करोड १ लाख रुपैयाँ रहेको छ।
नगरको आम्दानी पक्ष पनि सशक्त देखिएको छ। समीक्षाअनुसार नगरले ८६ करोड ३४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ।
धुलिखेललाई अन्तर्राष्ट्रिय स्तरमा “स्वस्थ शहर” को रूपमा चिनाउन सफल भएको तथा नगरलाई “प्रदूषणमैत्री” बनाउने अभियान, शिक्षामा स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था जस्ता पहलहरूलाई नगरले आफ्ना उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
रोजगार प्रवर्द्धनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, मेयर गरिबी निवारण कार्यक्रम, र लघुउद्यम विकासमार्फत थुप्रै कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन्। कृषिमा पनि उल्लेखनीय ध्यान दिइएको छ — माहुरीपालन, बेमौसमी तरकारी उत्पादन, सुन्तला पकेट क्षेत्रको विकास, उन्नत बीउ-बिजनको प्रयोग तथा माटो परीक्षणजस्ता सेवाहरूलाई प्राथमिकतामा राखिएको छ।