Ai को सहायतामा तयार पारिएको तस्बिर
लगनखेल, ललितपुर – कानून बमोजिम प्रमाणपत्र प्राप्त लेखापढी व्यवसायी तथा भू–सेवा केन्द्र सञ्चालकहरूलाई “बिचौलिया”को संज्ञा दिँदै प्रहरीले धरपकड गरेको घटनाप्रति विरोध जनाउँदै पाटन इकाई समितिले कलमबन्द र भू–सेवा सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। पाटन इकाई समितिका सचिव भरत घिमिरेद्वारा जारी विरोधपत्रमा मिति २०८२ चैत २२ गते भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरको प्राङ्गणबाट लेखापढी व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी परिसर जावलाखेलमा पु¥याएको घटनाप्रति खेद व्यक्त गरिएको छ।
विरोधपत्रमा नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अनुसार अड्डा अदालतमा लेखापढी गर्न जिल्ला अदालतबाट प्रमाणपत्र प्राप्त लेखापढी व्यवसायीहरू तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा जारी भू-सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ को नियम २३ (क) को उपनियम (५) बमोजिम अनुमति लिई सेवा दिइरहेका व्यवसायीहरूमाथि राज्यका तर्फबाट विनाआधार “बिचौलिया”को आरोप लगाइएको उल्लेख गरिएको छ। यस प्रकारको व्यवहारले पेशागत मर्यादा र कानूनले प्रदत्त अधिकारमाथि आघात पुगेको समितिको दाबी छ।
समितिले कानूनी आधारमा सेवा प्रवाह गरिरहेका व्यवसायीहरूलाई सम्बन्धित कार्यालय प्रवेशमै रोक लगाइनु र अपमानजनक व्यवहार गरिएकोप्रति आपत्ति जनाएको छ। व्यवसायीहरूको संवैधानिक तथा कानूनी हक अधिकारको प्रत्याभूति नहुँदासम्म सम्पूर्ण लेखापढी व्यवसायी तथा भू–सेवा केन्द्र सञ्चालकहरूले विरोधस्वरूप कलमबन्द तथा सेवा बन्द गर्न आह्वान गरिएको छ।
समितिले अर्को निर्णय नहुँदासम्म उक्त सूचनाको उल्लङ्घन गर्दै सेवा सुचारु गरेको पाइएमा सम्बन्धित सदस्यहरूमाथि समितिको विधान तथा नियमावली अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ। साथै, सूचनाको बर्खिलाप आफूखुशी सेवा सञ्चालन गर्ने सदस्यहरूलाई समितिको तर्फबाट कुनै सहयोग उपलब्ध नहुने र त्यसको जिम्मेवारी समितिले नलिने स्पष्ट गरिएको छ। समितिले सम्पूर्ण व्यवसायीहरूलाई संयुक्त रूपमा आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ।
