जाग्रेब – ‘विश्वभरि छरिएर रहेका तामाङहरू एक हौं, हाम्रो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै तामाङ समाज क्रोएसियाको आयोजनामा तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २०८२ भव्य रूपमा मनाइने भएको छ।
सोनाम ल्होछार मञ्जुश्री सम्वत २८६२ (ता ल्हो, घोडा वर्ग) को अवसरमा आयोजना हुने शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आगामी २५ जनवरी २०२६ (आइतबार) बिहान १०:१५ बजे देखि Prečko 2A, 10000 जाग्रेब मा आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, भाषा र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। विशेषगरी तामाङ सेलो, मेहेन्दोमाया गीत लगायतका परम्परागत सांगीतिक एवं सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिइएको छ।
कार्यक्रममा चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहनेछ भने गायक प्रदिप लामा, दिपक तामाङ, दिपा गोले तामाङ, सनित तामाङ माया थोकर लगायत अन्य कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।
साथै, क्रोएसियामा रहेका नेपाली समुदायका विभिन्न संघ–संस्था तथा तिनका प्रतिनिधिहरूलाई समेत कार्यक्रममा औपचारिक रूपमा आमन्त्रण गरिनेछ। यस कार्यक्रमले प्रवासमा रहेका तामाङ समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचान सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
तामाङ समाज क्रोएसियाले क्रोएसियामा रहेका सम्पूर्ण तामाङ तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछार २८६२ लाई भव्य, उत्साहप्रद, मनोरञ्जनात्मक साथै अर्थपूर्ण बनाउन आमन्त्रण गरेको छ।
