

जाग्रेब, क्रोएसिया — “बुद्धको मार्गमा हिँडौं, संसारमा शान्ति फैलाऔं” भन्ने मूल नाराका साथ २५६९ औं बुद्ध जयन्तीको अवसरमा क्रोएसियाको राजधानी जाग्रेबमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
तामाङ समाज क्रोएसियाको आयोजनामा, शेर्पा किदुग क्रोएसिया र तमु समाज क्रोएसियाको सह-आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्य बहादुर थिङ (साइमन लामा) प्रमुख अतिथिको रूपमा सहभागी थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा युवा व्यवसायी एवं तामाङ समाज क्रोएसियाका संरक्षक दावा लामा, तथा शेर्पा किदुग क्रोएसियाका प्रमुख सल्लाहकार अञ्जली शेर्पा रहेका थिए।
अध्यक्ष साइमन लामाले आफ्नो मन्तव्यमा बुद्ध जयन्ती पहिले एसियाली मुलुकहरूमा मात्र मनाइने गरे पनि अहिले युरोपका विभिन्न देशहरूमा समेत यसको प्रभाव बढ्दो रहेको बताए। उनले विदेशमा बसेर नेपाली समुदायले एकतामा कार्यक्रम मनाउँदा स्वदेशको अनुभूति हुने स्पष्ट पारे।
अन्य वक्ताहरूमा शेर्पा किदुग क्रोएसियाका अध्यक्ष निमा रेन्जिन शेर्पा, तमु समाज क्रोएसियाका अध्यक्ष सन्तोष गुरुङ, तामाङ समाज क्रोएसियाका वरिष्ठ उपाध्यक्ष बुद्ध लामा, सल्लाहकार मिङमार लामा, जनप्रगतिशील क्रोएसियाका अध्यक्ष लोप्साङ लामा, र नेपाली चर्चका प्रतिनिधि राम कुमार थामी लगायतको उपस्थिति थियो।
कार्यक्रममा अतिथिहरूले बुद्धको जीवन दर्शन, शिक्षाहरू र वर्तमान विश्व सन्दर्भमा यसको सान्दर्भिकताबारे विचार राख्दै बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका थिए।
तामाङ समाज क्रोएसियाका तर्फबाट रितेश लामाले स्वागत मन्तव्य दिँदै नेपालमा अस्थिर राजनीतिक परिस्थिति र प्रचारको अभावले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा विश्वसामु अझ प्रभावकारी ढंगले उठाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रम जाग्रेबको सेन्टर स्क्वायरस्थित रिदम ग्राधा युलिका २ मा आयोजित गरिएको थियो। बिहान ११:४५ बजे सुरु भएको कार्यक्रममा क्रोएसियामा रहेका नेपाली समुदायका विभिन्न पेशामा आवद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लामा गुरु कमल योञ्जनको मोलम पाठसहित सुरु भएको कार्यक्रममा सहभागीहरूले धार्मिक विधिअनुसार वाङ (आशीर्वाद) समेत ग्रहण गरेका थिए। बुद्धको शिक्षाबाट प्रेरित भई सहभागीहरूले शान्ति, सहिष्णुता र करुणाको भावना आत्मसात गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको अध्यक्षता तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाश चन्द्र तामाङले गर्दै, सबै अतिथि र सहभागीप्रति आभार व्यक्त गरे। उनले यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमहरू नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम सञ्चालन विशाल योञ्जन र दीपक तामाङले संयोजन गरेका थिए।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निर्वाण एकै दिन — वैशाख पूर्णिमा —मा परेकाले यस दिनलाई विशेष महत्वका साथ बुद्ध जयन्तीको रूपमा मनाउने गरिन्छ। हाल विश्वभर झण्डै १ अर्ब बौद्ध धर्मावलम्बी रहेका छन्।