

♦ जीवन भुजेल
समय परिवर्तनशील छ। समाज, सोच, संस्कृति र नेतृत्व पनि समयसँगै परिवर्तन हुन्छन्। तर विडम्बना, नेपालमा समयको परिवर्तनले नेतृत्वलाई सेवा र समर्पणतर्फ भन्दा सुविधाभोग र स्वार्थतर्फ डोर्याएको अनुभूति हुन्छ।
एक समय थियो, जब नेताहरू साधन-स्रोतको अभावमा पनि जनता माझ बस्थे। उनीहरूका लागि राजनीति सेवा थियो, सौख होइन। त्यतिबेला नेताहरू जनताको चुल्होमा जे पाक्थ्यो, त्यो खान सक्थे। उनीहरू जनता बीच घुलमिल थिए, गाउँघरको धुलो खाएर पनि मुस्कान दिन्थे। सिद्धान्त, त्याग र इमानदारी राजनीति चलाउने मूल मन्त्र थिए।
तर आजको अवस्था भिन्न छ। नेताहरू सिसाबाट जनता हेर्छन्, जनता सँग बस्न सक्दैनन्। भेटघाट महँगा होटेल र रिसोर्टमा सीमित छन्। आज नेताको सादगी होइन, स्टाइल देखिन्छ। सेवा होइन, सौख झल्किन्छ। जनतासँग साक्षात्कार होइन, मञ्चीय भाषणमा मात्र सीमित छन्।
कार्यकर्ताको चरित्र पनि परिवर्तन भएको छ। पहिले कार्यकर्ता भनेको विचारको झोला बोकेर टोलटोल पुग्ने व्यक्ति हुन्थ्यो। आज धेरै कार्यकर्ता “काम गराउने एजेन्ट” बन्न पुगेका छन्। सिद्धान्त पाखा लगाइएको छ, विचार झोलाभित्र पुरिएको छ।
यही बीच, सामाजिक सञ्जालको आगमनले नयाँ पुस्तालाई स्वर दिएको छ। जब पुराना नेताहरू पुरानै ढर्रामा अड्किरहेका छन्, नयाँ पुस्ता प्रश्न गर्दैछ — तपाईंको सन्तान विदेशमा किन? तपाईं देश सेवक कि केवल अवसर लिने?
सत्य के हो भने, हामीले कल्पना गरेको नेपाल बनाउन साँच्चै गाह्रो छ। तर असम्भव होइन। परिवर्तन असम्भव लागे पनि, जब जनतामा चेतना आउँछ, तब परिवर्तन अवश्य हुन्छ।
आज आवश्यकता छ — चेतनशील, सचेत, र सजग युवाको। जो नेताको नाममा अन्धभक्त नबनून्, प्रश्न गर्ने आँट राखून्।
हिजोका सपना अझै अधुरा छन्। देश बनाउन नेतृत्वको चरित्र फेरिनु पर्छ। विचारले राजनीति चल्नुपर्छ, साइनोले होइन।
हामी थाक्न सक्छौँ, तर हार मान्नु हुदैन। नेपाल बदलिन्छ – जब हामी बदलिन्छौं।