काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै नेतृत्व तहको व्यवहारमाथि कडा टिप्पणी गरेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवल शमशेर राणा पक्षबीच देखिएको मतभेद र सार्वजनिक आरोप–प्रत्यारोपलाई संकेत गर्दै शाहीले वर्तमान परिस्थितिमा विभाजन र संघर्षभन्दा एकता तथा सहकार्य आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले नेतृत्व तहमा देखिएको शक्ति संघर्ष, गुटगत प्रतिस्पर्धा र व्यक्तिगत महत्वाकांक्षाले संगठन कमजोर बन्दै गएको उल्लेख गरेका छन्। उनले कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा उभिएर विवादमा अल्झिन बाध्य भएको भन्दै यस्तो प्रवृत्तिले पार्टीको भविष्य र जनविश्वास दुवैलाई असर पुर्याउने चेतावनी दिएका छन्।
उनका अनुसार राजनीतिक दलभित्रको नेतृत्व विवादले संगठनात्मक एकतामा मात्र होइन, कार्यकर्ता र समर्थकहरूको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको छ। देश र संगठनको भविष्य निर्माण गर्ने जिम्मेवारी नेतृत्व तहमा रहेकाहरूको काँधमा भए पनि व्यवहारमा एकता, त्याग र सहकार्यको भावना कमजोर देखिएको उनको टिप्पणी छ। वर्तमान अवस्थामा मतभेदलाई संवादमार्फत समाधान गर्दै साझा उद्देश्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
शाहीले नेतृत्वको मूल्य केवल पदमा टिकिरहनुमा सीमित नहुने उल्लेख गर्दै आवश्यक पर्दा जिम्मेवारी हस्तान्तरण गर्न सक्ने क्षमता, संगठनको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने संस्कार र जिम्मेवार राजनीतिक आचरण आवश्यक रहेको बताएका छन्। एक पक्षले विज्ञप्तिबाजीमार्फत धारणा सार्वजनिक गर्ने र अर्को पक्षले छुट्टाछुट्टै गतिविधि सञ्चालन गर्ने प्रवृत्तिले संगठन विभाजनतर्फ उन्मुख भएको सन्देश जाने खतरा रहेको उनको भनाइ छ।
पछिल्लो समय राजनीतिक दलहरूभित्र देखिएको नेतृत्व विवाद र आन्तरिक खिचातानीप्रति युवापुस्तामा असन्तुष्टि बढ्दै गएको सन्दर्भमा शाहीले नेतृत्व तहलाई सार्वजनिक आरोप – प्रत्यारोपभन्दा माथि उठेर खुला संवादमा बस्न आग्रह गरेका छन्।
संगठन र देशको हितलाई केन्द्रमा राखेर निर्णय लिन तथा एकता, पारदर्शिता र जिम्मेवार नेतृत्वको अभ्यास गर्न सके मात्र नयाँ पुस्तामा राजनीतिक नेतृत्वप्रति भरोसा कायम हुन सक्ने उनको धारणा छ।

फाइल तस्बिर: ज्ञानेन्द्र शाही
