जाग्रेब (क्रोएसिया) – नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक विश्व दोङले आफ्नो युरोप भ्रमणअन्तर्गत क्रोएसियाको राजधानी जाग्रेबमा विशेष लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएका छन्। क्रोएसियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै कोशेली प्रोडक्सनको आयोजनामा हुने कार्यक्रम साउन ३० गते (अगस्ट १५), शनिबार जाग्रेबस्थित बोगालो क्लबमा आयोजना गरिनेछ।
आयोजकका अनुसार कार्यक्रम शनिबार साँझ ५ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा गायक दोङले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुका साथै दर्शकसँग प्रत्यक्ष सांगीतिक भेटघाट गर्नेछन्।
नेपाली आधुनिक एवं सेलो गायनका आफ्नो पहिचान बनाएका गायक दोङको ‘हेर्दामा राम्री’, ‘धरान सहर’, ‘सेल्फी हानौन’, ‘कहाँ पर्यो घर’, ‘साइलो म चारघरे’ लगायतका गीतहरू सर्वाधिक लोकप्रिय छन् ।
नेपाली मौलिक, आधुनिक तथा लोकप्रिय गीतमार्फत विदेशमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला, भाषा र संस्कृतिसँग अझ नजिक जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
यो कन्सर्ट विश्व दोङको युरोप भ्रमणको महत्वपूर्ण कार्यक्रममध्ये एक हो। जाग्रेबपछि उनको रोमानियासहित अन्य युरोपेली देशहरूमा पनि सांगीतिक प्रस्तुति तय गरिएको आयोजकले जनाएको छ। यस भ्रमणले युरोपमा रहेका नेपाली समुदायबीच नेपाली संगीतको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।
मुख्य आकर्षणका रूपमा विश्व दोङको सांगीतिक प्रस्तुति रहने भए पनि कार्यक्रममा अन्य कलाकारहरूको गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति पनि समावेश गरिनेछ, जसले दर्शकलाई नेपालीपनको अनुभूति दिलाउने विश्वास गरिएको छ।
कार्यक्रमको आयोजक कोशेली प्रोडक्सनले विगतदेखि नै युरोपमा नेपाली कलाकारहरूको सहभागितासहित विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यसअघि संस्थाले चर्चित गायिका रचना रिमालको तीज विशेष सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो ।
यसपटक विश्व दोङको कन्सर्ट पनि त्यही हलमा आयोजना हुन लागेको हो, जहाँ यसअघि गायिका मेलिना राईको नयाँ वर्ष २०८३ विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रम रंगमञ्च नेपालले आयोजना गरेको थियो। यस्ता कार्यक्रमहरूले युरोपमा रहेका नेपाली समुदायबीच नेपाली भाषा, संगीत र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
आयोजकले क्रोएसियासहित आसपासका युरोपेली मुलुकमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली संगीतको उत्सवलाई सफल बनाउन आग्रह गरेको छ। प्रत्यक्ष सांगीतिक प्रस्तुति, मनोरञ्जन र आपसी भेटघाटको अवसरका रूपमा कार्यक्रमलाई विशेष महत्त्वका साथ हेरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारी क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ। सहभागिता तथा टिकटसम्बन्धी जानकारीका लागि कोशेली प्रोडक्सनका प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
