काठमाडौं – नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन र विस्तारका लागि सरकारसँग पूर्ण सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासंघका पदाधिकारीलाई छलफलका लागि आमन्त्रण गर्नुभएको थियो। छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेको अनुभूति भएको उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
छलफलमा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रको संरक्षण, उत्पादन विस्तार, रोजगारी सिर्जना तथा परम्परागत सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो।
महासंघले निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने माग राखेको थियो। उक्त प्रस्तावप्रति प्रधानमन्त्री शाहले सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक प्रक्रिया अघि बढाइने संकेत दिनुभयो।
महासंघले हाल आफ्नै पहलमा हरेक वर्ष मंसिर २८ गते मनाउँदै आएको हस्तकला दिवस लाई राष्ट्रिय दिवसका रूपमा मनाउन माग गरेको थियो। प्रधानमन्त्री शाहले यस विषयमा तत्काल गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिनुभएको छ।
हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको मूल्याङ्कनको सट्टा बिजक मूल्याङ्कन प्रणाली लागू गरिए राजस्व वृद्धि हुने महासंघको सुझावलाई पनि सरकारले सकारात्मक रूपमा लिएको छ। साथै, निर्यातकर्ताले पाउनुपर्ने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा प्रधानमन्त्री शाहले उक्त सुविधा पुनः निरन्तरता दिने विषयमा पहल गर्ने आश्वासन दिनुभयो।
छलफलमा उद्योग विभाग परिसरमा निर्माण सम्पन्न भइसकेको सार्क हस्तकला विकास केन्द्र को भवन अन्य कार्यालयले प्रयोग गरिरहेको भन्दै उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनका लागि फिर्ता गरिनुपर्ने माग पनि उठाइएको थियो। प्रधानमन्त्री शाहले यस विषयमा आवश्यक निर्णयका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
यसैगरी, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप विकास तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने विषयमा पनि प्रधानमन्त्रीले विशेष चासो व्यक्त गर्नुभएको छ। निर्माण व्यवसायीसँग सहकार्य गरी कलात्मक संरचना निर्माण गर्ने प्रस्तावप्रति समेत उहाँ सकारात्मक देखिनुभएको छ।
महासंघले परम्परागत हस्तकला तथा सीपको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र वितरण, निर्यात प्रवर्द्धन तथा व्यवसायमैत्री नीति निर्माणलगायत विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
छलफलमा नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
