धुलिखेल – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वैशाख महिनाको ‘उत्कृष्ट कर्मचारी’ का रूपमा नायब सुब्बा राजकुमार तामाङलाई सम्मानित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा कार्यरत कर्मचारीहरूको मनोबल बढाउन र नागरिक सेवा प्रवाहलाई थप चुस्त एवं प्रभावकारी बनाउने उद्देश्यले हरेक महिना ‘उत्कृष्ट कर्मचारी’ छनोट गर्ने नयाँ प्रणालीको सुरुवात गरेसँगै नायब सुब्बा तामाङ सम्मानित भएका हुन् ।
यसै सकारात्मक पहल अन्तर्गत विक्रम संवत २०८३ साल वैशाख महिनाको उत्कृष्ट कर्मचारीका रूपमा कार्यालयमा कार्यरत नायब सुब्बा राजकुमार तामाङ छनोट भएका हुन् ।
यो सम्मानका लागि कर्मचारीको दैनिक कार्यसम्पादनको स्तर, सेवा लिन आउने सर्वसाधारणप्रतिको शिष्ट एवं सहयोगी व्यवहार, जिम्मेवारी वहन गर्ने क्षमता र कार्यालयको अनुशासनलाई मुख्य आधार बनाइएको प्रशासनले जनाएको छ ।
यस किसिमको मासिक मूल्यांकन र प्रोत्साहन कार्यक्रमले कर्मचारीहरूमाझ रचनात्मक एवं सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्ने विश्वास लिइएको छ । साथै, यसले समग्र निजामती सेवाको छवि सुधार्न र सार्वजनिक सेवा प्रवाहलाई अझ बढी जनमुखी एवं उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
