काठमाडौँ । सामाजिक अभियन्ता दिल निशानी मगरले वर्तमान सरकारको प्राथमिकता र कार्यशैलीमाथि तीखो व्यंग गर्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएका सुधन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै उनले जनताका दैनिक समस्याभन्दा पुराना र बहसमा रहेका घटनालाई प्राथमिकतामा राख्ने प्रवृत्तिमाथि प्रश्न उठाएका हुन्।
मगरले आफ्नो टिप्पणीमा “रोजगार चाहिँदैन, मदन भण्डारीको हत्यारा पत्ता लगाइदेऊ। महँगी नियन्त्रण गर्नु पर्दैन, दरबार हत्याकाण्ड पत्ता लगाइदेऊ” भन्दै व्यंग गरेका छन्। उनले राजपरिवारसँग सम्बन्धित घटनामात्र नभई रोग, शोक र भोकका कारण ज्यान गुमाएका सुकुम्बासी तथा विपन्न नागरिकका पीडाको समेत खोजी हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सरकारका लागि जनतालाई रोजगारी उपलब्ध गराउनु, बजारको महँगी नियन्त्रण गर्नु, महिलाको सुरक्षा सुनिश्चित गर्नु तथा सर्वसाधारणको धनसम्पत्ति जोगाउनु चुनौतीपूर्ण विषय बनेको उल्लेख गरेका छन्। यस्ता आधारभूत समस्याको समाधानतर्फ ध्यान दिनुभन्दा काल्पनिक वा भावनात्मक विषय उठाएर जनतालाई अलमल्याउने प्रयास भइरहेको उनको संकेत छ।
मगरले देशले आफ्नो चेतना, आवश्यकता र राजनीतिक संस्कृतिअनुसारकै नेतृत्व पाउने टिप्पणी गर्दै वर्तमान नेतृत्वमाथि पनि कटाक्ष गरेका छन्। उनले जेन–जी पुस्ताले फेसन र शैली प्रस्तुत गर्ने प्रधानमन्त्री तथा ‘स्वाग’ देखाउने गृहमन्त्री पाएको उल्लेख गर्दै सामाजिक सञ्जालमै व्यंगात्मक शैलीमा प्रतिक्रिया जनाएका छन्।
उनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ। कतिपयले यसलाई सरकारको प्राथमिकतामाथिको सशक्त व्यंगका रूपमा लिएका छन् भने केहीले यसलाई राजनीतिक टिप्पणीको रूपमा व्याख्या गरेका छन्।
