जाग्रेब । ‘विश्वभर छरिएर रहेका तामाङहरू एक हौं, हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गरौं’ भन्ने भनाईलाई हृद्यंगम गर्दै क्रोएसियामा सोनाम ल्होछार २०८२ भव्यताका साथ सम्पन्न भएको छ । सन् २०२३ मा गठन गरिएको तामाङ समाज क्रोएसियाले तेस्रो पटक औपचारिक रुपमै सोनाम ल्होछार आयोजना गरेको हो ।
२८६२ औँ सोनाम ल्होछार प्रवासमा रहेका नेपालीहरूबिच आपसी सम्बन्ध विस्तार गर्नका लागि वर्षभरिकै विशेष र महत्वपूर्ण कार्यक्रम हो । नेपाली संस्कृति र कलाले भरिपूर्ण कार्यक्रम मौलिकता, खुसीयाली, मनोरञ्जन र शुभकामना साटासाटको साझा केन्द्र बन्न पुगेको थियो । कार्यक्रम क्रोएसियामा रहेका नेपाली समुदायबिच सोनाम ल्होछारको शुभकामना साटासाट गर्ने कोशेढुंगा साबित भएको आयोजकले जनाएको छ । कार्यक्रममा सांस्कृतिक मनोरञ्जनसँगै दैनिक जीवनबाट आराम लिई आफ्नो कला, संस्कृतिलाई प्रवासमा बसेर संरक्षणका लागि सामुहिक रुपमा लाग्नुलाई विशेष रुपले हेरिएको छ ।
तामाङ समाज क्रोएसियाका संरक्षक एवं युवा व्यवसायी आप्पा कम्पनीका प्रबन्ध निर्देशक दावा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सँगसँगै ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा एन.आर.एन. ए. क्रोएसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहु, बुद्ध मार्टको सञ्चालक विकास मेचे, ग्लोबल ब्युरोका सञ्चालक पुकार रुम्बा तामाङ लगायत अन्य व्यक्तित्वहरू विभिन्न संघ संस्थालाई प्रतिनिधित्व गर्दै अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई अमृता स्याङतान तामाङ र सुरेन तामाङले सञ्चालन गरेका थिए ।
कार्यक्रम लामागुरु लोप्साङ लामाले विधिवत रुपमा मन्त्र (मोलम) पाठ गरेर सुरु गर्नुभएको थियो । २०२६ जनवरी २५ (माघ ११ गते) आइतबार राजधानी जाग्रेबस्थित प्रेच्को २ए (PRECKO 2A) मा भव्य रुपमा सम्पन्न भएको हो ।

सांगितिक प्रस्तुतीको क्रममा प्रशंसकहरूसँग सेल्फी खिच्दै चर्चित गायक उर्गेन दोङ
सोनाम ल्होछार मन्जुश्री संवत २८६२ ताः ल्हो/ घोडा वर्गको पावन अवसरमा आयोजना गरिएको कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङ तथा सेलो गायक प्रदिप लामा, दिपक तामाङ, दिपा गोले तामाङ, विक्रम घलान र मेहेन्दोमाया गायक सनित लामा, माया थोकर तामाङ, दिपेश तामाङ, माया थोकर लगायतले मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गायक दोङले ‘टाढा भएपनि’, लजालु मायालु, दुई दिनको माया लगायत आधा दर्जन गीत गाएर उपस्थित दर्शकस्रोतालाई झुमाएका थिए ।
आफ्नो प्रस्तुति दिँदै गायक प्रदिप लामा
युरोप यात्रामा रहेका चर्चित गायक तामाङ माल्टाको यात्रा सम्पन्न गर्दै क्रोएसिया आएका थिए । अबको उनको यात्रा नर्वे, पोर्चुगल लगायतका देशमा हुने जनाइएको छ ।
साथै नृत्य प्रस्तुति तर्फ पुनम तामाङ, विक्रम तामाङ, माया थोकर तामाङ, शर्मिला तामाङ लगायतका कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रमलाई रोचक र जीवन्त बनाएको थियो ।
तामाङ जागरण गीत गाएर सुरुवात गरिएको कार्यक्रममा तामाङ समाज क्रोएसियाको विशेष प्रस्तुति रहेको थियो । समाजको तर्फबाट स्वागत गीत, सामुहिक नृत्य, मेहेन्दोमाया सामुहिक नृत्य लगायत अन्य एकल, युगल तथा सामुहिक नृत्यहरूमा

कार्यक्रम पश्चात सामुहिक फोटो खिचाउँदै सोनाम ल्होछार आयोजक तामाङ समाज क्रोएसियाका सदस्यहरू
मुना घले, मनिष थोकर, जीवन घलान, मिनमाया वाईबा, स्मृति तामाङ, जङ्मो शेर्पा, नुर्बु लामा, विशाल योञ्जन तामाङ, शर्मिला तामाङ, सुजि तामाङ, कमला तामाङ, ग्याल्जेन तामाङ, जीवन छोइङ तामाङ, सलोमी तामाङ, सिरिसा चोदेन तामाङ, सोम घलान तामाङ र आरिफ तामाङको आकर्षक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा किराँत राई यायोख्खा समाज क्रोएसियाको प्रतिनिधित्व गर्दै कौशिला राईले, तमु समाज क्रोएसियाको प्रतिनिधित्व गर्दै ओनिशा गुरुङ र विजय गुरुङले युगल नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै मगर समाज क्रोएसियाबाट प्रतिनिधित्व गर्दै सुश्मिता थापा मगर, सुष्मा झकरी मगरले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका विशेष पलहरूलाई विशेष बनाउन फोटोग्राफी र भिडियोग्राफीमा दिपक महराको टोलीले सहयोग गरेको थियो ।

आफ्नो सांगितिक प्रस्तुति दिँदै गायक दिपक तामाङ
कार्यक्रममा मिना वाईबा र शान्ति योञ्जनले आमन्त्रित अतिथिहरूलाई स्वागत गरेका थिए भने उपस्थित व्यक्तित्वहरूलाई स्वयंसेवक समूहले खादा अर्पण गर्दै न्यानो स्वागत गरेको थियो । कार्यक्रममा प्रसाद तथा खाजा तयार गर्ने जिम्मेवारी प्रमिता तामाङ थोकरको समूहले व्यवस्थापन र वितरण गरेको थियो ।

कार्यक्रममा प्रस्तुति दिँदै गायक विक्रम घलान तामाङ
कार्यक्रममा सहभागिका लागि टिकट वितरण तथा व्यवस्थापन तामाङ समाज क्रोएसियाका प्रवक्ता रमेश ब्लोनको समूहले गरेको थियो । कार्यक्रममा हिमालयन टुर एण्ड ट्राभल्सका सञ्चालक महासचिव विशाल योञ्जनले प्राविधिक पक्ष सम्हालेका थिए । कार्यक्रममा चर्चित गायक उर्गेन दोङ, दिपा गोले र माया थोकर तामाङलाई प्रमाणपत्र सहित मायाको चिनो सहित सम्मान गरिएको र बाँकी कलाकारहरूलाई समय तोकेर पछि सम्मान गरिने तामाङ समाज क्रोएसियाले जनाएको छ ।

कार्यक्रममा प्रस्तुति दिँदै गायिका दिपा गोले
कार्यक्रममा १ हजार जनाभन्दा धेरै दर्शकहरूको उपस्थिति रहेको बताइएको छ । क्रोएसियाका विभिन्न शहरहरूमा पेशागत रूपमा कार्यरत तामाङ तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवं ल्होछार प्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई आकर्षक, समावेशी एवं अर्थपूर्ण बनाएको थियो ।
कार्यक्रममा तामाङ समाज क्रोएसियाको तर्फबाट उपाध्यक्ष जीवन घलान तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई सभ्य एवं भव्य रुपमा सम्पन्न गर्न संयोजक अर्जुन मोक्तानको टिमले स्वयंसेवकीय भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रममा प्रस्तुति दिँदै गायिका माया थोकर
तामाङ समाज क्रोएसियाले प्रवासमा तामाङ समुदायको धर्म, संस्कृति, भेषभूषा, परम्परा, रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रस्तुति दिँदै गायक सनित लामा
