जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र बलिदान प्रदर्शनमा आउने भएको छ । क्रोएसियास्थित बुद्ध मार्टको प्रस्तुतिमा चलचित्र प्रदर्शनमा आउने भएको हो । क्रोएसियामा बसोबास गरिरहनु भएका नेपालीबिच प्रदर्शन गर्न लागिएको चलचित्र २०२५ नोभेम्बर १६ गते आइतबारको दिन प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेटे’ मा प्रदर्शनमा आउने चलचित्र आसुसेन फिल्म्ससँगको सहकार्यमा बुद्ध मार्ट क्रोएसियाले प्रदर्शनमा ल्याउन लागेको हो । क्रोएसियामा रहेका नेपाली समुदायमाझ प्रदर्शन हुने यस चलचित्रमा नेपालको सांस्कृतिक, राजनीतिक र सामाजिक परिवेशसँग जोड्न र फुर्सदको समयलाई प्रभावकारी बनाउन चलचित्र प्रदर्शन गर्न लागिएको बताइएको छ ।
क्रोएसियामा प्रदर्शन हुने उक्त चलचित्र हेर्नका लागि प्रति टिकट मुल्य १० युरो रहेको प्रदर्शक संस्थाले जानकारी दिएको छ । चलचित्रको टिकटको लागि एभरेष्ट म:म:, थोमस बार र बुद्ध मार्टमा सम्पर्क गरि अग्रिम बुकिङ समेत गर्न सकिने नोर्बु तामाङले जानकारी दिएका छन् । यो टिमले लाज शरणम्, एन्जिला, कोशेढुंगा लगायतका चलचित्रहरू भव्य प्रदर्शन गरिसकेको छ ।
चलचित्र बलिदान बिहान ११:०० बजे, दिउँसो २:१५ बजे, साँझ ५:३० गरि ३ शो नै चल्ने चलचित्रको व्यवस्थापन पक्ष सम्हालिरहेका तिलक भट्टले जानकारी दिए ।
सन्तोष सेन निर्देशित चलचित्रमा मातृभूमि प्रतिको मायालाई चित्रण गर्ने प्रयास गरिएको छ । देशभक्त युवाको कथा बोल्ने यस चलचित्रले देशको अस्मितामाथि कसैले धावा बोल्दा कसरी प्रतिबाद गर्छ र ज्यान समर्पण गर्न सक्छ भन्ने विषयवस्तुलाई बडो मिहिन ढंगले प्रस्तुत गरिएको छ ।
चलचित्रमा नायक समिर भट्ट, सौगात मल्ल, सन्तोष सेन, रिचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राय, कामेश्वर चौरासिया, प्राजल दुलाल, जीवन बराल, रितेश जंग पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको क्रियटिभ डाइरेक्टर सन्देश भुर्तेल हुन् ।
ब्लकबस्टर हिट चलचित्र “१२ गाउँ”बाट चलचित्र क्षेत्रमा शानदार डेब्यु गरेका समीर भट्ट अभिनित नेपाली कथानक चलचित्र “बलिदान” नेपालमा यही वर्ष बडादशैँ फूलपातिको दिनमा देशभर एकैपटक प्रदर्शन भएको थियो।
चलचित्रको ट्रेलर हेर्न प्ले बटन थिच्नुहोस् :
