

धुलिखेल, काभ्रेपलाञ्चोक – राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ को पुस्तक विमर्श कार्यक्रम शनिबार धुलिखेलबाट सुरु भएको छ। देशभर घट्दो पठन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सातै प्रदेशमा आयोजना गरिनेछ।
कार्यक्रममा सहभागी वक्ताहरूका अनुसार ‘करूणा’ आत्मकथा शाक्यको जीवनमा आएको संघर्ष, उतारचढाव, र अनुभवहरूको सजीव चित्रण हो। मृत्युको मुखबाट फर्किएर देशको प्रथम महिला बन्नेसम्मको यात्रा प्रस्तुत गर्दै पुस्तकले पाठकमा मानवीय करूणाको भाव जगाएको छ।

‘करूणा’ पुस्तक विमर्श कार्यक्रममा समाज र राजनीति, मानवताबारे धारणा राख्नुहुँदै प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्य
शाक्यको धारणा: सामाजिक सञ्जाल र समाजप्रति चिन्ता
विमर्श कार्यक्रममा बोल्दै प्रथम महिला राधिका शाक्यले सामाजिक सञ्जाल समाजलाई नकारात्मक दिशामा लैजाँदैछ भन्ने धारणा व्यक्त गर्नुभयो। उहाँले खासगरी सामाजिक सञ्जालमा केपी ओलीमाथि गरिने गालीप्रति आपत्ति जनाउनुभयो र भन्नुभयो, “गाली गर्न खुसी हुनेहरूकै भविष्य अन्धकार छ।”
उहाँले पञ्चायतकालीन कठिनाइ सम्झँदै अहिलेको स्वतन्त्र परिवेशमा आलोचना सहन सकिने बताउनुभयो। साथै, “आफ्नो गोडामा आफैँले बन्चरो हान्दै छन्” भन्दै युवापुस्ताको भविष्यमाथि चिन्ता व्यक्त गर्नुभयो।
आत्मकथामा प्रमुख दुई पुरुष पात्र: बा र केपी सर
शाक्यको आत्मकथामा ‘बा’ र ‘केपी सर’ नामक दुई पुरुष पात्रहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। एक जन्म दिने पिता, अर्को जीवनसाथीको रूपमा साथ दिने केपी ओली। उहाँले यी दुई पात्रलाई कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ, जसले पाठकमा भावनात्मक प्रभाव पार्दछ।
धुलिखेल नगरको स्वागत र अन्य मन्तव्य
कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जुले पुस्तक विमर्श कार्यक्रम धुलिखेलबाट सुरु भएकोमा लेखिका र प्रकाशकलाई धन्यवाद दिनुभयो। साथै, उहाँले शाक्यलाई नगरको समग्र वस्तुस्थितिका बारेमा जानकारी गराउनुभयो।
अन्य वक्ताहरूमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नबिल बैंकका कार्यबाहक सीईओ मनोज ज्ञवाली, र पाणिनी प्रकाशनका अध्यक्ष रामबाबु नेपालले ‘करूणा’ आत्मकथामा जीवन र जगतका विविध पाटाहरू समेटिएको भन्दै प्रशंसा व्यक्त गरे।
कार्यक्रमको सञ्चालन पाणिनी प्रकाशनका शिवशक्ति आचार्यले गर्नुभएको थियो।