डिआईजी बडुवामा १६ प्रतिस्पर्धी: भुपेन्द्र खत्री पहिलो नम्बरमा

Logo
सोहरुची प्रकाशित शनिबार, आश्विन २५, २०८२ समाचार सुरक्षा र अपराध

काठमाडौं । नेपाल प्रहरीमा हाल रिक्त रहेका ४ जना र कात्तिक महिनामा रिक्त हुन लागेका एकसहित पाँचजना प्रहरी उपरीक्षक (डीआईजी) पद खाली हुँदै छन्। ती पदका लागि प्रतिस्पर्धामा हाल ११२ औँ टोलीका १५ जना वरिष्ठ प्रहरी अधिकृतहरू र अघिल्लो बढुवाबाट छुटेका एसएसपी शारदा चौधरीसहित १६ जना दाबेदार रहेका छन्। बढुवाको प्रक्रिया नजिकिँदै जाँदा संगठनभित्र प्रतिस्पर्धा तीव्र बनेको छ।

यसअघि चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्ला बढुवाको वरियताको आधारमा निर्णय गरिएको थियो। सोही आधारमा यसपटक पनि बढुवा प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ। तर अघिल्लो बढुवामा पहिलो वरियतामा रहेका विश्व अधिकारी जेन-जी आन्दोलनका समयमा काठमाडौं प्रहरी परिसर प्रमुख भएकाले हाल गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको अनुसन्धानमा छन्। त्यसकारण, उनको बढुवा रोकिने सम्भावना रहेको स्रोतले बताएको छ। यस अवस्थामा दोस्रो वरियतामा रहेका भुपेन्द्रबहादुर खत्री लगायत अन्य चारजना बढुवाको सूचीमा पर्ने प्रबल सम्भावना देखिएको छ।

२०५६ असार ३ गते ११२ औँ टोलीका रूपमा प्रहरी इन्स्पेक्टरका रूपमा प्रवेश गरेका खत्री नेपाल प्रहरीभित्र इमानदार, साहसी र जनमुखी अधिकृतका रूपमा परिचित छन्। इन्स्पेक्टरदेखि एसपी हुँदै एसएसपीसम्मको यात्रामा उनले जनताको मन जित्ने कामहरू गरेका छन्। एसपी रहँदा उनले चर्चित मोहम्मद अफताब आलम प्रकरणमा साहसिक कदम चालेका थिए। आलममाथि २० जनालाई जिउँदै इटाभट्टामा जलाएर मार्ने आरोप थियो। शक्तिकेन्द्रको दबाबका कारण धेरै अधिकारीहरू पछि हट्दा पनि खत्रीले उनलाई पक्राउ गरी अदालतमा पेश गरे र पीडितहरूलाई न्याय दिलाए ।

त्यस्तै, काभ्रे जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा उनले बढ्दो आपराधिक गतिविधि नियन्त्रणमा ल्याए। “बुद्ध चित्त माला” समूहका नाममा लुटपाट र हिंसात्मक अपराधहरू बढ्दै गएका बेला खत्रीले अपराधीहरूलाई नियन्त्रणमा लिएर जनतालाई सुरक्षाको भरोसा दिलाए।

एसएसपी भएपछि खत्रीले काठमाडौं जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले। उनले १५ वर्षदेखि फरार माओवादी केन्द्रीय सदस्य कालिबहादुर खामलाई पक्राउ गर्न सफल भए । साथै, एकैपटक चार जनाको हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कानूनी प्रक्रियामा ल्याए। उनको नेतृत्वमा काठमाडौंमा भएका बल्खु र तिनकुनेका आन्दोलनहरू शान्तिपूर्ण ढङ्गले सम्पन्न भए। आन्दोलनका क्रममा कुनै पनि नागरिक वा प्रहरीको ज्यान जान नदिनु उनको दक्षताको प्रमाण हो । खत्रीले आफ्नो टोलीको आत्मबल बढाउन मनोबल र उत्प्रेरणा कार्यक्रमहरू पनि सञ्चालन गरेका छन् ।

संगठनभित्र उनी उच्च व्यावसायिक, निष्पक्ष र जनउत्तरदायी प्रहरी अधिकारीका रूपमा परिचित छन्। हाल उनी नेपाल प्रहरी शिक्षालय चितवनका प्रमुख (समादेशक) का रूपमा कार्यरत छन् र शिक्षालयमा विभिन्न सुधारात्मक तथा मनोबल अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

हाल एसएसपी दर्जामा रहेका ११२ औँ टोलीका १५ जना र अघिल्लो बढुवाका एसएसपी शारदा चौधरीसहित कुल १६ जना अधिकारी डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्। शारदा चौधरीले हालसालै मिर्गौला प्रत्यारोपण गराएकी भएकाले यसपटकको बढुवामा उनलाई पनि समेटिने बुझिएको छ। डीआईजी बढुवाको सूचीमा क्रमशः विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन्।

स्रोतका अनुसार कात्तिक पहिलो सातामा गृह मन्त्रालयले पाँच डीआईजीको बढुवा सिफारिस गर्ने तयारी गरेको छ। हालसम्मको कार्यसम्पादन, जनसेवामा देखाएको सक्रियता र संगठनप्रतिको समर्पणका आधारमा भुपेन्द्रबहादुर खत्री बढुवाको शीर्ष दाबेदारका रूपमा देखिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२