काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको दूरसञ्चार सेवा थप भरपर्दो, गुणस्तरीय र प्रभावकारी बनाउन देशभरका टेलिकम टावरमा सम्भव भएसम्म राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित अन्तरनिकाय छलफलमा उहाँले सेवा विस्तार र गुणस्तर सुधारका लागि देखिएका समस्या पहिचानमा मात्र सीमित नभई स्पष्ट कार्ययोजना र प्रभावकारी कार्यान्वयनतर्फ केन्द्रित हुन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। बैठकमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नहुँदा देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवामा देखिएका समस्या, तिनको कारण र समाधानका उपायबारे विस्तृत समीक्षा गरिएको थियो।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट जिम्मेवारी र समयसीमासहित अघि बढ्न निर्देशन दिनुभयो। विगतमा अन्तरनिकाय समन्वय कमजोर हुँदा धेरै समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकी नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो। मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको उहाँको भनाइ थियो।
उहाँले टेलिकमका टावरमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्युत् नपुगेका सबै टावरको अद्यावधिक विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो। त्यसका आधारमा प्राथमिकताका साथ विद्युत् विस्तारको योजना तयार गर्नुपर्ने उहाँले बताउनुभयो। विद्युत् पुगेका क्षेत्रमा समेत कम भोल्टेजका कारण दूरसञ्चार सेवा प्रभावित भइरहेको गुनासो आएको भन्दै वितरण प्रणालीको क्षमता विस्तार गरी त्यस्ता समस्या समाधान गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो।
सञ्चारमन्त्री तिमिल्सिनाले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो। दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन तथा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रूपमा परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै सेवा पहुँच विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। साथै काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका विद्युत् तथा दूरसञ्चारका तार व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सुरक्षित पूर्वाधार र सहरी सौन्दर्य प्रवर्द्धनका लागि संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभयो।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा विद्युत् पहुँचको अभाव दूरसञ्चार सेवा विस्तारको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो। उहाँका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध छैन र ती टावर सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेका छन्। नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै तीमध्ये करिब १४ सय टावरमा नयाँ विद्युत् लाइन विस्तार आवश्यक पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। सञ्चालनमा रहेका कतिपय टावरमा समेत कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उल्लेख गर्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति र भोल्टेज क्षमता वृद्धि अत्यावश्यक रहेको धारणा उहाँले राख्नुभयो।
नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगतमा दुवै निकायले छुट्टाछुट्टै योजना बनाउँदा समन्वय प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो। आगामी दिनमा नयाँ टावर निर्माण हुने स्थानमै विद्युत् पूर्वाधार पनि सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो। कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण प्रणालीको क्षमता विस्तारलाई प्राथमिकतामा राखिने र नियमित समन्वयका लागि संयुक्त समिति गठन गर्न सकिए समस्या समाधान अझ प्रभावकारी हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ। काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायत क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने कार्यसँग दूरसञ्चार पूर्वाधारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशव्यापी विद्युतीकरण अभियानमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको जानकारी दिँदै राष्ट्रिय प्रसारण लाइन पुर्याउन कठिन हुने दुर्गम तथा ग्रामीण क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा भरपर्दो विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेषगरी दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जा स्रोतको उपयोगमार्फत दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा सहयोग पुर्याउने गरी सहकार्यलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो।
