काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले मुलुकको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सोमबार पुँजी बजारसँग सम्बन्धित सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र मर्यादित बनाउँदै अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै राम्रो काम गर्नेहरूलाई सरकारले निरन्तर प्रोत्साहन गर्ने तर अनियमितता र गलत गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने बताउनुभयो।
छलफलका क्रममा पुँजी बजारका सरोकारवालाहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राखेका छन्। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीलाई थप व्यवस्थित बनाउन, दोस्रो बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी उचित मूल्य निर्धारण प्रणाली विकास गर्न तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा माथि पुर्याउन अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन्।
त्यसैगरी, ब्रोकर कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारका लागि कर्जा उपलब्ध गराउने व्यवस्था सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत निर्णय गर्नुपर्ने सुझाव पनि दिइएको छ। बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिद गरेपछि छ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन तथा सेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीका आधारमा नभई कुल कर्जाको पाँच प्रतिशत कायम गर्नुपर्ने माग सरोकारवालाहरूले अघि सारेका छन्।
उनीहरूले व्यक्तिगत लगानीकर्ताले कारोबारमा बेहोरेको नोक्सानीमा कर समायोजनको व्यवस्था गर्न, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय लगानीका लागि प्रोत्साहन गर्न तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई रणनीतिक साझेदारसहित पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको पुँजी बजारमा लगानी गर्ने कानुनी तथा नीतिगत बाटो खुला गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेललगायत सहभागी थिए।
नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र–२०८३ कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिनुभयो। ती नीतिअनुसारका कार्यक्रमहरू चरणबद्ध रूपमा कार्ययोजनासहित अघि बढाइएको उहाँको भनाइ थियो।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्सालले बैंकिङ, बीमा तथा पुँजी बजार सुधारसँग सम्बन्धित आवश्यक कानुन निर्माण र संशोधन प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो। नेप्सेको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तय गरी धितोपत्र बोर्डको नीतिअनुसार प्रणाली विकास गर्दै कारोबारलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाइने उहाँले बताउनुभयो।
