

भुम्लु, काभ्रेपलाञ्चोक — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने भुम्लु गाउँपालिकाका दुई जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कारसहित विशेष सम्मान गरिएको छ।
गाउँपालिकाभित्रका विद्यालयहरूबाट छात्र र छात्रातर्फ सर्वाधिक जीपीए हासिल गर्ने दुई विद्यार्थीलाई पुरस्कृत गरिएको हो। सेतीदेवी माध्यमिक विद्यालय, वडा नं १ सापिङका प्रशन गिरीले ३.७४ जीपीए प्राप्त गरी छात्रतर्फ उत्कृष्टता हासिल गरे भने अरुणोदय माध्यमिक विद्यालय, वडा नं २ सिमथलीकी मनिता खड्काले ३.४४ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट ठहरिइन्।
उनीहरूलाई भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), जिल्ला समन्वय समिति सदस्य कमलराज गिरी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं ५ का अध्यक्ष अञ्चल मोक्तान, र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर के.सी सहितका पदाधिकारीहरूले नगद र प्रमाणपत्रसहित सम्मान गरे।
कार्यक्रममा उपाध्यक्ष तामाङले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरिएको जानकारी दिए। उनका अनुसार गाउँपालिकाले विगत दुई वर्षदेखि एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गर्दै आएको छ।
त्यस्तै, अधिक विद्यार्थी उत्तीर्ण गराउन सफल तीन विद्यालय— वडा नं ६ स्थित जनता माध्यमिक विद्यालय, वडा नं १ को सेतीदेवी माध्यमिक विद्यालय र वडा नं ७ को शारदा माध्यमिक विद्यालयलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
कार्यक्रममा अतिरिक्त उपलब्धिका आधारमा वनदेवी माध्यमिक विद्यालयका विद्यार्थी सजन जि.सी (योगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता) र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन स्वर्ण तथा एक रजत पदक जितेकी विनिशा भण्डारीलाई पनि सम्मान गरिएको थियो।