
जाग्रेब । कोशेली प्रोडक्सनको आयोजनामा क्रोएसियाको राजधानी जाग्रेबमा भव्य तीज धमाका कार्यक्रम २०८२ सम्पन्न भएको छ । नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा चर्चित गायिका रचना रिमालसँगै अन्य कलाकारहरूले आ-आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन गराएका थिए ।
क्रोएसियाको राजधानी जाग्रेब स्थित Tvornica Kulture Hall .Ul.Pavla.2.10000 मा आयोजित कार्यक्रम साँझको ५:०० बजेदेखि ११:०० बजेसम्म संगीतमय वातावरणमा सम्पन्न भएको कार्यक्रम संयोजक लामा ब्रदर्सका सञ्चालक सञ्जय तामाङले जानकारी दिए ।
कार्यक्रममा रचना रिमालले आधा दर्जन भन्दा बढी गीत गाउँदै मनोरञ्जन प्रदान गरेकी थिइन् । रचना रिमालले फोटो फिरिममा, मिनिरल वाटर, उनको प्रीति लगायतका गीत गाउँदै दर्शकहरूलाई मनोरञजन दिलाएकी थिइन् । आफ्नो सांगितिक प्रस्तुति पस्कदै युरोप यात्रामा रहेकी गायिका रिमालको स्पेनको म्याड्रिड, बार्सिलोना, पोल्यान्ड, क्रोएसियामा कार्यक्रम सकिएको छ भने माल्टा लगायतका अन्य युरोपियन देशमा समेत सांगितिक प्रस्तुति रहने बताइएको छ ।
क्रोएसियामा आफ्नो सांगितिक प्रस्तुति सकिएको भोलिपल्ट गायिका रिमालले त्यहाँ रहेको होस्टल र मार्टहरू भ्रमण गरेकी थिइन् । उनी एभरेष्ट म:म:,काठमाडौं मार्ट, आप्पा होस्टल, हिमालय एक्सोटिक सुपरमार्केट लगायतका व्यापार एवं व्यवसायहरूको भ्रमण गरेकी थिइन् ।
कार्यक्रममा बुद्ध लामा, दिपक तामाङ, निश्चल राई, मणि काफ्ले, कृष्ण काफ्ले, बालकृष्ण, सुनिता बिक, प्रदिप लामा लगायतको सांगितिक प्रस्तुतिमा सयौं दर्शकहरू झुमेका थिए । त्यसैगरि शान्ता तामाङ, शिरिषा छुदेन तामाङ, ग्याल्छेन तामाङ, निरु परियार, मनोज श्रेष्ठ, शान्ति ओली र युवराज थापाले एकल तथा सामुहिक नृत्य मार्फत कार्यक्रमलाई उत्साहप्रद बनाएका थिए ।
कार्यक्रमलाई अर्थपूर्ण र मनोरञ्जक बनाउन उद्घोषकद्वय दिपक तामाङ र अमृता स्याङतान तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।