
जाग्रेब । क्रोएसियामा बसोबास गरिरहेका नेपाली युवाहरूको मिहिनेत र लगनले जन्मिएको डिओपी ब्याण्ड छोटो समयमै सफलता र दर्शकको मन जित्दै अगाडि बढिरहेको छ। संगीतमा प्रेम र समर्पण बोकेर सुरू भएको यो समूह आज नेपाली समुदायका अधिकांश सांस्कृतिक कार्यक्रममा पहिलो रोजाइ बन्न सफल भएको छ।
सन् २०२३ मा स्थापित डिओपी ब्याण्डले कभर गीतहरू मार्फत सांगीतिक यात्रा थालेको थियो। अहिले भने ब्याण्ड आफ्नै मौलिक गीत सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ। विदेशको भूमिमा नेपाली कला र संस्कृति जोगाउने प्रयत्नमा यो ब्याण्ड एक प्रेरणाको कथाजस्तै बन्दै गएको छ।
ब्याण्डको ड्रममा प्रविन लामा तामाङ र बिम्स गुरुङ, गितारमा सुमित सुब्बा र ब्रिजेस पाल्पाली, भोकलमा अजय घिसिङ र नेमा नेगी लामा, साथै बेसमा मनोज लोप्चन तामाङ रहेका छन्। लोक, पप र सफ्ट रक संगीतमा विशेष पहिचान बनाएको यो समूहले नेपाली गीतसंगीतलाई परदेशमा जीवन्त बनाइरहेको छ।
डिओपीले नेपालबाट आएका कलाकारहरूसँग समेत मिलेर एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिएको छ। धुर्मुस-सुन्तली, इन्दिरा जोशी, तुलसी शिवाकोटीजस्ता चर्चित कलाकारहरूसँग सहकार्य गर्दै ब्याण्डले दर्शकको मन जित्न सफल भएको छ। हालै सम्पन्न जेमसी नाइट कार्यक्रममा ब्याण्डले दिएको प्रस्तुति ‘अहिलेसम्मकै उत्कृष्ट’ भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
ब्याण्डका म्यानेजर मनोज लोप्चन तामाङका अनुसार संगीतप्रतिको गहिरो लगाव, केही विशेष गर्ने हुटहुटी र सहकर्मीहरूबीचको विश्वासले डिओपी ब्याण्डको जन्म भएको हो । उनका अनुसार सबै सदस्यहरूको समर्पणले नै ब्याण्डलाई आजको स्थानसम्म पुर्याएको हो।
ब्याण्डमा रहेका सबै सदस्यहरू आ–आफ्नो सांगीतिक पृष्ठभूमिबाट आएका छन्। बिम्स गुरुङ नेपालमै स्त्री ब्याण्ड मार्फत सशक्त प्रस्तुति दिँदै आएकी थिइन् भने सुमित सुब्बाले उपासा ब्याण्डसँग सहकार्य गरेका थिए। विदेशिएका यी युवाहरूले क्रोएसियासँगै विदेशी भुमिमा नेपाली सांगीतिक माहौल फैलाउन क्रियाशील छन् ।
डिओपी ब्याण्ड केवल प्रस्तुति दिनमा सीमित छैन। यो समूहले नेपाली गीत–संगीतको झिल्को परदेशी भूमिमा फैलाउने सपना देखेको छ। दर्शक र श्रोताको मायाले हामी अझ उत्साहित भएको बताउँदै ब्याण्डले क्रोएसिया मात्र होइन, अन्य देशहरूमा पनि आफ्नो संगीत सुनाउने योजना रहेको बताएको छ ।
नेपालीपनलाई गीत संगीतमार्फत जगेर्ना गर्न प्रतिबद्ध डिओपी ब्याण्डले परदेशमा आफ्नै छुट्टै परिचय बनाउँदै, हरेक सुर, ताल र शब्दमा मौलिकता प्रदर्शन गर्दै आएको छ ।
ब्याण्डमा मनोज लोप्चन तामाङ म्यानेजर, नेमा नेगी लामा, प्रविण बम्जन तामाङ, ब्रिजेश पाल्पाली, अजय घिसिङ तामाङ, सुमित सुब्बा, बिम्स गुरुङ रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा परदेशिएका नेपाली युवाहरूको सहकार्य स्वरुप डिओपी ब्याण्डको जन्म भएको हो ।
गीत संगीतको प्रस्तुतिसँगै अगाडि बढिरहेको डिओपी ब्याण्ड सफलता चुम्न ओजिला पाइलाहरू चालिरहेको छ । स्थापनाको छोटो अवधिमा चर्चित कलाकारहरूसँग सहकार्य गर्दै ब्याण्ड आफ्नो दमदार प्रस्तुति पस्कदै आइरहेको छ । कार्यक्रम अवलोकन गर्दै आएका दर्शकहरू र सहकार्य गर्ने कलाकारहरूले ब्याण्डको प्रस्तुति उत्कृष्ट भएको प्रतिक्रिया दिने गरेका छन् । आगामी दिनहरूमा समूहमा मिलेर काम गर्दै क्रोएसिया लगायत अन्य देशहरूमा समेत उत्कृष्ट प्रस्तुति दिने ब्याण्डले जनाएको छ ।