 
   
पाटन, १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्धारा अभिनन्दित गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय बद्री पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यद्वारा हस्ताक्षरित अभिनन्दन–पत्रलाई राष्ट्रिय मदेश आयोग अध्यक्ष प्रा.डा. बिजय कुमार दत्त, दलित आयोग अध्यक्ष प्रा. डा. देवराज विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतले प्रदान गरेका हुन । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत गरेको सत्कर्मको उच्च सम्मान र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।
पत्रकार महासंघ काभ्रेको सल्लाहकार र उपाध्यक्ष तथा प्रेस चौतारी काभ्रेको अध्यक्ष र आठ वर्ष केन्द्रिय सदस्यसम्म भएर सक्रिय रहेका बजगाई हाल प्रेस चौतारी काभ्रे, अनलाईन मिडिया सञ्जाल र काभ्रे प्रेसका सल्लाहकार तथा नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷सम्पादक रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सम्मानित भै सकेका छन ।
सोहि अवसरमा अग्रज श्रष्टाहरु प्रा.डा. राजेन्द्र बिमल, प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता ब्याकुल माइला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरु अखण्ड भण्डारी, गोपीकृष्ण ढुंगाना, त्रीभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली, सर्जक÷संगितकार राजेन्द्र बजगाई, युवा अभियन्ता चक्र बहादुर चन्दलगायतलाई पनि सम्मानित गरिएको थियो ।
यस्तो थियो बजगाईलाई प्रदान गरिएको अभिनन्दन पत्रको व्यहोरा ।
श्री नवराज बजगाईज्यू, अग्रज सञ्चारकर्मी, काभ्रेपलाञ्चोक
श्रद्धेय माताश्री स्व. खिनमाई बजगाई तथा तथा पिताश्री स्व. कोमल प्रसाद बजगाईको कान्छो सुपुत्रको रूपमा विक्रम सम्वत् २०३६ असार १८ गते नयागाउँ–६, हाल मण्डनदेउपुर नगरपालिका–४, काभ्रेपलाञ्चोकमा जन्म लिएर आवाज विहिनको प्रतिनिधिको रुपमा २०५८ सालदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशिल रहनु भएको छ ।
नेपाली कला, संस्कृति, भाषा र साहित्यको क्षेत्रमा आफ्नो आवाज (बिभिन्न रेडियो र टेलिभिजनमा साहित्यक कार्यक्रम मार्फत) बुलन्दगर्दै र छापा माध्यममा कलम चलाउदै आउनु भएका नवराज बजगाई २०५८ सालदेखि निरन्तर प्रकाशित भैरहेको मोफसलकै क वर्गको पत्रिका नव क्षितिज साप्ताहिकको प्रधान सम्पादक र विगत १० वर्षदेखि डिजिटल पत्रिका राम्रो सन्देश डट कमको सम्पादकको रुपमा क्रियाशिल हुनुहुन्छ ।
पत्रकार महासंघ काभ्रेको सल्लाहकार र उपाध्यक्ष तथा प्रेस चौतारी काभ्रेको अध्यक्ष र आठ वर्ष केन्द्रिय सदस्यसम्म भएर सक्रिय रहनु भएकोमा हाल प्रेस चौतारी काभ्रे, अनलाईन मिडिया सञ्जाल र काभ्रे प्रेसका सल्लाहकार रहनु भएको छ । बिभिन्न सामाजिक संघ संस्था समेतमा आबद्ध रहेर राष्ट्रका लागि योगदान गरिरहनु भएको छ । बिभिन्न सञ्चार माध्यममा लेख, रचना, अडियो र भिडियोद्वारा नेपालको कला, साहित्य र इतिहासका विषयलाई उजागर गर्दै आउनुभएको छ । सञ्चारकर्ममा जति नै सामाजिक कर्ममापनि जोडिएका एक सामाजिक अभियान्ता र समाजसेवी समेत रहनु भएको उहाँले अहिलेसम्म थुपै मात्रामा सम्मान, पुरस्कार र प्रशंसापत्रहरु पाई सक्नु भएको छ ।  
राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत लागिरहनु भएकाले यहाँको सत्कर्मको उच्च सम्मान गर्दै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले राष्ट्रिय पोशाक दिवसको अवसरमा यहाँलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ मार्फत अभिनन्दन अर्पण गर्न पाउँदा अत्यन्तै गर्व महसुस गरेका छौं । राष्ट्रको साहित्य वाड्मय, सञ्चार र इतिहासको संरक्षण तथा विकासमा यहाँको योगदान र सत्कर्मको तुलना गर्न सकिदैन ।
आफ्नो जीवनका स्वर्णिम समय राष्ट्रको उन्नति, साहित्यको संरक्षणमा तल्लीन यहाँको सुख, शान्ति, सम्वृद्धि र दिर्घायुको कामना गर्दै राष्ट्रचिन्तनमा समय बितोस् भनी श्री पशुपतिनाथसँग सदैव कामना गर्दछौ ।
 
 
							 
							 
							 
							 
							 
							 
							