बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित कलाकार जितबहादुर नेपाल ‘मुन्द्रे’को विशेष उपस्थिति आकर्षणको केन्द्र बनेको थियो।
कार्यक्रममा कलाकर्मी भुषण भोमी श्रेष्ठ, प्रहरी नायब उपरीक्षक विजय केसी तथा पत्रकार सचित खड्कालाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, सञ्चालक आत्माराम थापा, कलेजका सहायक प्रिन्सिपल नवराज चौलागाईं, विद्यालयका प्रिन्सिपल नवराज दाहाल, प्रशासन प्रमुख अर्जुन खड्का, नवआगन्तुक विद्यार्थी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको दोस्रो चरणमा कलाकार जितु नेपाल ‘मुन्द्रे’ले प्रेरणादायी तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न मेहनत, अनुशासन र समय व्यवस्थापन अपरिहार्य रहेको बताए। उनले देशमै बसेर पनि उत्कृष्ट अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै सामाजिक सञ्जालको सही र सकारात्मक प्रयोग गर्न विद्यार्थीहरूलाई सुझाव दिए।
आफ्नो संघर्षपूर्ण यात्राको अनुभव सुनाउँदै उनले सफलता प्राप्त गर्न निरन्तर मेहनत, धैर्यता र समर्पण आवश्यक हुने धारणा व्यक्त गरे। उनको प्रेरणादायी अभिव्यक्ति र मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई उत्साहित बनाएको थियो।
यस्तै, कलाकार निरज नेपाल र पवन खतिवडाको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो। सहभागी विद्यार्थीहरूले कलाकारहरूसँग अन्तरक्रिया गर्दै मनोरञ्जनसँगै प्रेरणा प्राप्त गरेका थिए।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै उनीहरूमा सकारात्मक सोच, अनुशासन, नेतृत्व क्षमता र भविष्यप्रति आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाएको छ।
