चिनियाँ भन्सार भएर उत्तरी सीमामा अड्किएका करिब २० कन्टेनर फलफूल एक तिहाइ जति कुहिएको हो । फलफूल व्यापारी शारदाप्रसाद पराजुलीले अनार, स्याउ र आँप कुहिएको बताए ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रतिनिधि आफैँ बसेर कोदारी पहिरो पन्छाउन सुरु गरिएको र केही दिनमै लिपिङ खोलामा पनि डाइभर्सन तयार गरेर सडक संचालन गर्ने तयारी छ । ‘सडक संचालन भएपछि फलफूलबाहक सबै कन्टेनर राजधानी पठाइन्छ,’ तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले भने । कन्टेनरभित्र केही कार्टुन स्याउ कुहिएको पाइएको उनले जनाए ।
तुइनबाट तारेर भरियामार्फत् भन्सारयार्डमा ल्याउने क्रम जारी रहेपनि धेरै कन्टेनर अझै पारिपट्टी रहेकाले फलफूल कुहिने जोखिम बढेको हो । अनार, आँप र स्याउ धेरै कुहिएको छ, व्यापारी पराजुलीले भने, ‘यसपटक हामीले घाटा व्यहोर्नु पर्नेछ ।’ यद्यपि, चीन स्वशासित तिब्बतको खासा र केरुङसम्म आएर भन्सार नभएका करिब दुईसय कन्टेनर फलफूल फर्काएर सिँगात्से र ल्हासास्थित ठूला कोल्डस्टोरमा राखिएको छ ।
एक कन्टेनर बराबर ६ हजार आरएमबी तिरेर तिब्बत सरकार आफैँले कोल्डस्टोरमा राखिदिएपछि नेपाली व्यापारीको लगानी डुब्ने खतरा टरेको छ । एक महिनाको लागि तिब्बत सरकारले कोल्डस्टोर भाडामा लिएको हो । करिब सय कन्टेनरमा कुलिङ सिस्टम भएकोले ती गाडीहरु खासा, न्यालम र केरुङमै छन् । तर, ती गाडीको डिस्टेन्सन चार्ज नेपाली व्यापारीले नै तिर्नुपर्छ ।