जाग्रेब । क्रोएसियाको राजधानी जाग्रेबमा तमु समाज क्रोएसियाको आयोजनामा तमु ल्होसार हर्षोल्लासका साथ सम्पन्न भएको छ । लामा गुरु नारायण गुरुङ्गले मोलम पाठ गरेर कार्यक्रम सुरुवात गर्नुभएको थियो । जाग्रेबस्थित मेन स्क्वायर ‘रिदम ग्रादा’मा आयोजित कार्यक्रममा विभिन्न जातजाति, समुदाय तथा नेपाली प्रवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। परम्परागत भेषभूषा, मौलिक नृत्य, गीत–संगीत र सांस्कृतिक झलकले कार्यक्रम स्थल नेपालीपनले झकिझकाउ बनेको थियो।
कार्यक्रम एन.आर.एन.ए. क्रोएसियाका युवा संयोजक नुर्बु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सम्बोधनका क्रममा लामाले तमु ल्होसार गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको सांस्कृतिक पहिचान झल्काउने पर्व भएको उल्लेख गर्दै विदेशमा रहँदा पनि भाषा, संस्कार र संस्कृति जोगाइराख्नु सबै नेपालीको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले आपसी एकता, भाइचारा र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्ने बताउनुभयो।
कार्यक्रममा क्रोएसियामा सक्रिय विभिन्न संघ–संस्थाहरू तामाङ समाज, मगर समाज तथा किराँत राई यायोख्याबाट गायन, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए। साथै आयोजक संस्था तमु समाज क्रोएसियाले पनि गुरुङ समुदायको मौलिक संस्कृति झल्काउने विशेष सांस्कृतिक प्रस्तुति पस्किएको थियो। किराँत राई यायोख्या क्रोएसियाका अध्यक्ष अशोक राईले ‘आकाशैमा चिल हो कि बेसाना’ र गायिका शर्मिला गुरुङ्गले ‘सलाईजु’ लगायतका सांस्कृतिक गीत गाउँदै उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनु भयो।

तमु ल्होसारको अवसरमा आफ्नो गायन प्रस्तुति पस्कदै गायिका शर्मिला गुरुङ्ग (बायाँ) र गायक अशोक राई (दायाँ)
तमु समाज क्रोएसियाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सबिन गुरुङ्गले गर्नुभएको थियो । सयौँ दर्शकहरूको उपस्थिति रहेको कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो। सभ्य एवं भव्य रूपमा सम्पन्न भएको यस कार्यक्रमले क्रोएसियामा नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाएको विश्वास लिइएको छ।
गुरुङ्ग जातिको नयाँ वर्षको रुपमा मनाइने चाड यस वर्ष ‘त ल्हो’ (घोडा वर्ग) स्वदेश तथा विदेशमा हर्षोल्लासका साथ मनाइएको छ । प्राचीन एवं धार्मिक महत्व बोकेको तमु ल्होसार तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको अवसरमा मनाइँदै आएको छ । नेपालमा पुस १५ गते मनाइएको यस पर्व क्रोएसियामा त्यसपछि सबैलाई छुट्टी मिल्ने दिन पारि जनवरी ४ आइतबारको दिन मनाइएको हो ।

