काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादा विपरीत श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा संलग्न गराएको भन्दै उनीमाथि कारबाहीका लागि सिफारिस गरेका थिए। पार्टीको केन्द्रीय अनुशासन आयोगले बुधबार पेस गरेको अध्ययन प्रतिवेदनमा साहको गतिविधिले पार्टीको छवि र आदर्शमा गम्भीर आँच पुर्याएको निष्कर्ष निकालेको थियो। सोही प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष उनलाई पदमुक्त गर्न सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ मा रहेको ‘राइट टु रिकल’ को व्यवस्था अनुसार साहलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरेको हो। यसैगरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत पदीय जिम्मेवारीमा गम्भीरता नदेखाएको भन्दै सचेत गराउन सिफारिस गरिएको थियो। सोही बमोजिम प्रधानमन्त्री शाहले उनलाई समेत सचेत गराएका छन् ।
