काभ्रे । बाँसडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा शनिबार बनेपा नगरपालिका–१२ मा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि बनेपा नगरपालिका–१२ का वडा अध्यक्ष रामबहादुर कुँवर रहनुभएको थियो।
सभाको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष नवराज थापा, सल्लाहकारहरू, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिहरू तथा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारण सभामा करिब ७९ प्रतिशत सदस्यहरूको सहभागिता रहेको जनाइएको छ।
साधारण सभाले शेयर लाभांश कोषबाट ८.५९ प्रतिशतका दरले लाभांश वितरण गर्ने तथा ऋण कारोबारका आधारमा ६.०८ प्रतिशत र बचत कारोबारतर्फ २.२५ प्रतिशतका दरले संरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
साथै, साधारण सभाको अवसरमा संस्थाले निर्माण गरेको भवनबाट वडा अध्यक्ष रामबहादुर कुँवरद्वारा रिबन काटी भवन उद्घाटन गरिएको थियो।
संस्थाको हालको शेयर पुँजी २ करोड ३९ लाख ३३ हजार ५ सय, सदस्य संख्या २ हजार ६ सय २२, कुल निक्षेप १८ करोड ६६ लाख ५२ हजार ६ सय ७ र लगानी १८ करोड ७६ लाख ६४ हजार ५ सय ७६ रहेको छ। कुल सम्पत्ति २५ करोड ४३ लाख ७ हजार ७ सय ३७ रहेको जानकारी कोषाध्यक्ष कल्पना कुँवरले दिनुभयो।
लेखा संयोजक कञ्चन भुजेलले आर्थिक वर्ष ०८१/०८२ को प्रमुख आर्थिक सूचकहरू, संस्थाले गरेका गतिविधि तथा आगामी योजना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरू, ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यहरूलाई नगद, खादा तथा सम्मानपत्र प्रदान गरिएको थियो। साथै, भवन निर्माणको ठेक्का लिने ठेकेदार नीरबहादुर राई, भवन निर्माणमा सहयोग पुर्याउने सदस्यहरू तथा दाताहरूलाई समेत सम्मान गरिएको थियो।
संस्थाको भवन निर्माण लागत १ करोड ३० लाख ७२ हजार ४४ रुपैयाँ रहेकोमा विभिन्न समिति, कर्मचारी, सल्लाहकार तथा शेयर सदस्यहरूबाट ५ लाख २६ हजार ८ सय रुपैयाँ सहयोग संकलन भएको जानकारी संस्थाका सचिव रामकृष्ण कुँवरले दिनुभयो।
विगत १५ वर्षदेखि संस्थामा निरन्तर सेवा दिँदै आउनु भएका प्रमुख कार्यकारी अधिकृत अनन्त प्रसाद तिमल्सिनालाई उत्कृष्ट कर्मचारीको रूपमा प्रशंसा पत्र, खादा तथा नगदसहित सम्मान गरिएको थियो।
संस्थाले निरन्तर सकारात्मक सोचका साथ सदस्य सेवामा कार्य गर्दै आएको र यही कार्यसम्पादनका आधारमा राष्ट्रिय सहकारी बैकबाट प्रदेशस्तरीय सम्मान प्राप्त गर्न सफल भएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत अनन्त प्रसाद तिमल्सिनाले काभ्रे प्रेसलाई दिनुभयो।

