काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको मुख्य व्यवस्थापक कम्पनी नेपाल आयल निगम लिमिटेडले काठमाडौं उपत्यकासहित देशभर एल.पी. ग्यासको आयात, आपूर्ति तथा बिक्री वितरण नियमित रहेको स्पष्ट पारेको छ। निगमले ग्यास आपूर्ति सहज बनाउन तथा सम्भावित अभाव न्यूनीकरण गर्न निरन्तर पहल गरिरहेको जनाएको हो।
निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आसन्न आम निर्वाचनलाई ध्यानमा राख्दै फ्रेबुअरी महिनाको आयात Allocation मा थप २,००० मेट्रिक टन एल.पी. ग्यास समावेश गरिएको छ। यसअनुसार हाल दैनिक औसत ११० वटा ग्यास बुलेट नियमित रूपमा आयात भइरहेका छन्।
काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिब २३ वटा ग्यास उद्योगहरूमध्ये केही उद्योगहरूले दैनिक करिब ४०,००० सिलिन्डर बजारमा आपूर्ति गरिरहेको निगमले जनाएको छ। यद्यपि, पछिल्लो समय ग्यासको माग उच्च रहेकाले केही ब्रान्डका सिलिन्डरहरू डिलरमार्फत अस्थायी रूपमा उपलब्ध नभएको अवस्था देखिएको छ।
यसै सन्दर्भमा निगमले नेपाल ग्यास, एभरेष्ट ग्यास, साइवावा ग्यास तथा श्री कृष्ण ग्यास ब्रान्डका सिलिन्डरहरू डिलरमार्फत नपाएमा उपभोक्ताले सिधै उद्योग वा बिक्री केन्द्रबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।
ग्यास आपूर्ति नपाएको अवस्थामा उपभोक्ताले नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयभित्र) सम्पर्क गर्न सक्ने निगमले जनाएको छ।
निगमले एल.पी. ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको पुनः स्पष्ट गर्दै आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरेको छ।
